समाचार

ग्वार्कोमा मुलुककै पहिलो ओभरपास संरचना निर्माण शुरु

काठमाडौं । चक्रपथमा पर्ने ग्वार्को चोकमा शुक्रबारबाट मुलुककै पहिलो ओभरपास बनाउने काम शुरु भएको छ । चक्रपथमा सबैभन्दा बढी जाम हुने क्षेत्र छनोट गरी पहिलो चरणमा ग्वार्को चोकमा ओभरपास बनाउन लागिएको हो । यो नेपालकै पहिलो ठूलो क्षमतासहितको ओभरपास संरचना हो । ग्वार्कोको ओभरपासमा विदेशमा जस्तो पिल्लर र त्यसमुनि सडक भने हुँदैन । चक्रपथको बीचका मुख्य चार लेन र्‍याम्प बनाएर चोकमा पुल निर्माण गरी सवारी आवागमन व्यवस्थित गर्न लागिएको छ । यसले चक्रपथको सवारी व्यवस्थापन करिब एक वर्षसम्म प्रभावित हुनेछ ।

योजनाअनुसार सडक विभागले बीएन्डबी अस्पतालतर्फबाट मुख्य चारलेनमा चोकसम्म १८५ मिटरको लामो र्‍याम्प बनाउनेछ । बालकुमारीतर्फबाट ३२० मिटरको अर्को र्‍याम्प बन्ने छ । र्‍याम्प र पुल गरी ५४० मिटरको ओभरपास संरचना बन्नेछ । ४ प्रतिशतको ग्रेडिङ भएको र्‍याम्प बनाउन विभागले ‘मेकानिकल्ली स्टेबलाइज्ड अर्थ रिटेनिङ वाल’ लगाउनेछ र त्यसभित्र माटो भर्नेछ । माटो भरेपछि त्यसमाथि चार लेनको सडक नै निर्माण गरिनेछ । र्‍याम्पको चौडाइ १६ मिटरको हुनेछ । जसमा विस्तारित चक्रपथको अन्य भागको जसस् समानान्तर रूपमा ४ लेनकै सडक बनाइनेछ ।

मुख्य चोकमा ३५ मिटरको पुल (सम्म भाग) रहनेछ । जुन पुलको मुनिबाट रिंगरोड वारीपारी गर्ने सवारीहरु विनाअवरोध ‘क्रस’ गर्न सक्नेछन् । अर्थात् ओभरपासको पुल निर्माण भएपछि इमाडोल–पाटन गुड्ने सवारीसवारीसाधन फ्लाइओभरकै मुनिबाट वारपार गर्नेछन् । बीचका सडकमा र्‍याम्प बनाएर ओभरपास बनाए पनि सर्भिस लेनहरु अहिलेकै अवस्थामा रहने छन् ।

सडक विभागले २७ माघ, २०७८मा ओभरपास बनाउन ठेक्का लगाएर डिजाइनको जिम्मा दिएको थियो । ४ महिनाभित्रै ओभरपासको डिजाइन गरेर थप २० महिनाभित्रै बनाइसक्ने गरी खरिद सम्झौता भएको थियो । इन्जियिरिङ प्रक्रयोर्मेन्ट एन्ड कन्स्ट्रक्सन (ईपीसी) मोडल अनुसार ठेक्का लागेपछि इन्जिनियरिङकै काममा ठेकदार कम्पनीले १० महिना समय लगाएको छ ।

अब निर्धारित समयअनुसार काम भएमा अबको १४ महिनाभित्रै ओभरपास बनिसक्नुपर्छ । यो परियोजना निर्माणको जिम्मा आशिष, रेलिगेयर, समानान्तर जेभीले लिएको छ । १७ करोड ६ लाख रुपैयाँमा ठेक्का लागेको यो ओभरपास बनिसकेपछि ५ वर्षसम्म ठेकदार कम्पनीले नै मर्मतसमभार गर्नुपर्ने खरिद सम्झौतामा उल्लेख छ ।