बिचार

जन्मदिवस; तिथी, मिति र जंको

योगेश आदी

जन्मदिन मनाउनु भनेको जन्मेको दिनको सम्मान र आफुप्रतिको गर्वानुभूति प्रकट गर्नु हो । पश्चिमा संस्कृतिमा बलिरहेको मैनबत्ति फुकेर मैनबत्तिको धुँवाले ‘प्रार्थना’ भगवानसम्म पूर्याउँछ भन्ने मान्यतासँगै मुख मिठो पार्न केक काटेर मनाउँने गर्दछन् भने नेपालमा अभिभावकको हातबाट सगुन र आशिर्वाद थापेर मनाइने चलन छ । विश्वको अधिकाँश देशमा जन्मदिन जन्मेको मितिमा मनाउँने गर्दछन् भने नेपालमा अझैपनि कतिपयले जन्मतिथीको आधारमा मनाउँने गर्दछन् ।

तपाई जन्मदिन जन्मेको तिथी पारेर मनाउनु हुन्छ कि कागजपत्रमा भएको मिति पारेर ?

नेपाल र भारतमा वैदिक समयतालिका अर्थात पञ्चाङ्ग अनुसार जन्मेको तिथी पारेर जन्मदिवस मनाउनेहरु मनग्ये भेटिन्छन् । मेरै बुवाको जन्मदिन पनि तिथीमा मनाउँने भएकोले वर्षैपिच्छे फरक मितिमा पर्ने गर्दछ किनकि ‘समये बजी पूर्णीमा’ हरेक वर्ष फरक मितिमा पर्ने गर्दछ । जतिबेला जन्मको अभिलेख राख्ने चलन थिएन त्यतिबेला तिथी सम्झिनलाई सजिलो माध्यायम थियो । घाम हेरेर महिना र छायाँ हेरेर समय अनुमान लगाउने पुस्तालाई तिथी सजिलो र भरपर्दो उपाय थियो । मितिमा मनाउने हरेक वर्ष एकैदिन जन्मदिवस् मनाउँछन् भने तिथीमा मनाउँनेले फरक दिनमा ।

आखिर के हो तिथी ?

तिथी एउटा अवधि हो । पृथ्वीबाट चन्द्रमाको दुई वटा अनुहार देखिन्छ; कृष्ण पक्ष र शक्ल पक्ष । हरेक दिन सुर्य र चन्द्रमाबीचको देशान्तर दुरी १२ डिग्रीले फरक पर्दै १५ दिनमा पूर्ण चन्द्रमा हुनेतर्फ जानेक्रम शुक्ल पक्ष हो भने औंसीतर्फ बढ्ने अवधि कृष्ण पक्ष हो । शुक्ल पक्ष र कृष्ण पक्ष दुबैको १५ दिनलाई प्रथमा, द्वितिया, तृतिया… गर्दै पूर्णिमा र औंसीसम्म गरी १ महिना पुरा मानिन्छ । जसअनुसार परापूर्वकालमा जन्ममिति सम्झिने आधार तिथी थियो । बर्तमान अवस्थामा मिति लोकप्रिय बन्नुका कारण सहज र प्रभावकारी भएर नै हो । जन्मदिन मनाउनु भनेको जन्मेको दिनको सुखद स्मरण गर्नु हो । तिथी र मिति जुन छानेपनि स्मृतिमा एक उत्सव मनाउनु न हो ।

कुन आधिकारिक र प्रभावकारी ?

उमेर एक नम्बर मात्र हो । क्रोनोलोजिकल उमेरले केही म्याटर गर्दैन भन्ने जमानामा तिथी र मितिले खासै फरक पार्दैन । यद्यपि ग्रह न नक्षत्रको प्रभाव हेरेर धातु र पत्थर लगाउने जमातले तिथीमात्र वास्तविक उमेर हो भन्ने तर्क राख्दछन् । वास्तवमा नेपालको हकमा प्रायश: नेवारी समुदायले तिथी अनुसार जन्मोत्सव मनाउँछन् । तिथी अनुसार जन्मदिन र जन्मबर्ष गणना गर्ने भएकोले नै नेवार समुदायले जंको मनाउँने गरेको भेटिन्छन् ।

जंको के हो ?

जंको नेवारी परंपरागत शब्द हो । यसलाई “बुढा पास्नि” पनि भन्ने गरिन्छ । यो लोग्नेको उमेरको आधारमा श्रीमान श्रीमतीको सामुहिक मनाइने गरिन्छ । नेवार पुरुषको उमेर ७७, ८१, ८८, ८९ र १०५ वर्ष पुग्दै गए अनुसार एकै व्यक्तिको ५ पटकसम्म मनाउने गरिन्छ । जन्को नेवारी पुरेत अर्थात गुवाजूका अनुसार लुनार पात्रोको आधारमा तय गरिन्छ । जंकोमा पनि दोश्रो जन्कोलाई जीवनकालमा १००० वटा पूर्ण चन्द्रमाको दर्शन गरिएको भन्ने आधारमा ‘चन्द्ररथारोहण’ नाम दिएर मनाइन्छ । “सहस्र चन्द्र दर्शन” नै हजार चन्द्रमाको दर्शनको प्रतिकात्मक अवसर हो । लुनार पात्रो अनुसार एक महिनामा २९.५३ दिन हुन्छ । जसअनुसार १००० पूर्ण चन्द्रमा बन्न २९५३० दिनहरु आवश्यक पर्दछ । यसरी ८० वर्ष १० महिना बन्न जान्छ । ८१ बर्षको जन्को मनाउनु पूर्व देखिने थप ३ पूर्ण चन्द्रमाले शारिरीक र आध्यात्मिक शक्ति प्रदान गर्दछ भन्ने मान्यता पनि रहेको छ ।