समाचार

नेपालमा विप्लव आतङ्क, प्रतिबन्ध फुकवा गर्ने तयारी अन्योलमा

काठमाडौं
नेपालमा आइतबार राजधानी काठमाडौंमा विप्लव नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को बिस्फोटमा कम्तीमा चार जनाको मृत्यु भएको छ । विभिन्न ठाउँका बिस्फोटमा अरु ५ जना घाइते भएका छन् । आइतबार मात्रै काठमाडौं उपत्यकाबाट झण्डै १ सय जना पक्राउ परेका छन् । फागुनमा प्रतिबन्ध लगाएपछि देशका विभिन्न ठाउँबाट ५ सयभन्दा बढी नेता–कार्यकर्ता पक्राउ परेको नेपाल प्रहरीले जनाएको छ । तर, पक्राउ परेका धेरैलाई अदालतले छाड्ने गरेको छ । काठमाडौंमा आइतबार भएका घटनामा ज्यान गुमाउने, घाइते र पक्राउ परेका सबै विप्लव माओवादीका कार्यकर्ता भएको पुष्टि भएको छ ।
विभिन्न सार्वजनिक ठाउँमा बम राख्न लैजाने क्रममा समय मिलाउन नसक्दा बम बिस्फोट भएको प्रहरीले जनाएको छ । बिहान ४ बजे पड्काउने तयारी गर्दा अघिल्लो बेलुकी चार बजे आसपासमा पड्किएको घाइते रविन केसीले जनाएका छन् । उनी अखिल क्रान्तिकारीका नेतासमेत हुन् । यसअघि उनी नख्खु बिस्फोटमा संलग्न भएको आरोपमा प्रहरीले पक्राउ गरेको थियो, तर अदालतको आदेशले मुक्त भएका थिए । ज्यान गुमाउने प्रज्ववल शाही र केसीले अनामनगरमा शाहीको कोठामा बम राखेका थिए । शाहीको घटनास्थलमै ज्यान गएको थियो भने केसीको उपचार चलिरहेको छ । केसी घाइते अवस्थामा अरुको मोटरसाइकलमा बसेर भाग्दै थिए ।
काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा आइतबार बेलुकी बम राख्ने शृङ्खला नै चल्यो । आधा दर्जनभन्दा धेरै ठाउँमा राखिएका बम सुरक्षाकर्मीले निष्क्रिय पारे । भोजपुरमा प्रहरीको गोलीबाट एक कार्यकर्ता मारिएको विरोधमा सोमबार आयोजना गरिएको बन्दका क्रममा विप्लवका चार जना कार्यकर्ताको मृत्यु भयो । सोमबार देशका विभिन्न ठाउँमा गाडीमा आगजनी भएको छ । आइतबार र सोमबारका घटनाले राज्य संयन्त्रले नियन्त्रण गर्न नसक्ने अवस्थामा विप्लव नेतृत्वको नेकपा पुगेको विश्लेषण गर्न थालिएको छ ।

प्रतिबन्ध फुकुवा हुनै लाग्दा झनै सक्रिय
सरकारले प्रतिबन्ध लगाएको झण्डै तीन महिनाको अवधिमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका ५ सयभन्दा धेरै नेता कार्यकर्ता पक्राउ परेका छन् । तेस्रो बरियताका नेता एवम् मध्य कमाण्ड इन्चार्ज रहेका हेमन्तकुमार ओली ‘सुदर्शन’सहितका नेताहरु काभ्रेबाट पक्राउ परेपछि एकपछि अर्को गर्दै उक्त पार्टीका नेताहरु पक्राउ परेका हुन् । सुदर्शन पक्राउ परेपछि दोस्रो तहका नेता खड्कबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले अहिले मध्य कमाण्डको नेतृत्व सम्हालिरहेका छन् । ललितपुरमा एनसेल कार्यालयमा एक जनाको मृत्यु हुनेगरी बिस्फोट गराएपछि सरकारले फागुनको अन्तिममा विप्लव नेतृत्वको नेकपालाई गतिविधिमा प्रतिबन्ध लगाएको हो ।
राजनीतिक गतिविधिमा समेत प्रतिबन्ध लागेपछि प्रमुख सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीभित्रै विप्लव समूहलाई प्रतिबन्ध लगाउने निर्णयको विरोध भयो । आफ्नो पार्टीका नेताले मात्र होइन, प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसले समेत प्रतिबन्ध लगाउने सरकारको निर्णयको विरोध गरेपछि सरकारले प्रतिबन्ध हटाउने तयारी थालेको थियो । अमेरिका र आफ्नो यूरोप भ्रमणका क्रममा पूर्व माओवादी पृष्ठभूमिका ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले सरकारले प्रतिबन्ध हटाउने तयारी गरेको जानकारी दिएका थिए ।
प्रमुख सत्तारुढ नेकपाका नेता माधवकुमार नेपालले विप्लवसँग अनौपचारिक संवाद गरेको यो तीन महिनामा विप्लवले शान्तिपूर्ण विरोध प्रदर्शन गर्ने र सरकारले प्रतिबन्ध हटाउने सहमति भएको थियो । तर, सहमतिले औपचारिक रुप नपाउँदै विप्लवले आत्मघाती क्रियाकलाप गरेको एक नेकपाका नेताले बताएका छन् । उपत्यकामा भएको बिस्फोटले उपत्यका केन्द्रित विप्लवको शक्ति विच्छेद भएको छ । जिम्मेवार र सक्रिय सबै तहका नेताहरु पक्राउ परेका छन् । केहीले ज्यान गुमाएका छन् । केही उपत्यकाबाट बाहिरिएका छन् ।
उपत्यकामा आइतबार र सोमबारका घटनापछि गृहमन्त्री रामबहादुर थापाले पार्टी नेता, सुरक्षा विज्ञ लगायतसँग परामर्श थालेका छन् । स्रोतका अनुसार प्रहरीले विप्लवविरुद्ध कारबाही भन्दा पनि शतर्कता अपनाउने भएको छ । गृहमन्त्री थापाले आफ्नो दल नेकपाका शीर्षनेतासँग आइतबारदेखि नै परामर्श थालेका छन् । अर्धभूमिगत भएका जनवर्गीय संगठनका नेता–कार्यकर्ता आइतबारदेखि भूमिगत हुन थालेका छन् । सरकार भने पर्ख र हेरको रणनीतिमा लागेको छ । स्रोतका अनुसार अझै केही समय सरकारले विप्लवलाई वार्ताका लागि आग्रह गर्नेछ ।

कति छ विप्लवसँग शक्ति ?
विस २०६९ मा तत्कालीन एकीकृत नेकपा माओवादीबाट अलग भएका मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा–माओवादीमा आबद्ध विप्लवले किरणसँग पनि असन्तुष्टि जनाएर २०७१ सालमा नयाँ पार्टी गठन गरेका हुन् । शुरुमा उनले नेकपा माओवादी नाम राखे पनि पछि उनले आफ्नो पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी राखेका थिए । विप्लवको मुख्य राजनीतिक लाइन भनेको जनवादी क्रान्ति हो । जसमा सशस्त्र आन्दोलनलाई प्रमुख बनाइएको छ ।
विप्लवले राज्य सत्ताविरुद्ध वैज्ञानिक आक्रमणलाई आफ्नो राजनीतिक र कार्यनीतिक योजनामा उल्लेख गरेका छन् । त्यसमा उनले पहिलेको जनयुद्ध जस्तो फौैजी आक्रमणलाई मात्र भन्दा पनि नयाँ प्रविधि प्रयोग गरेर सरकारविरुद्धको सशस्त्र लडाइलाई प्राथमिकतामा राखेका छन् । त्यसैको प्रयोगस्वरुप आइतबार समय फिट गर्ने क्रममा कार्यकर्ताले एएम र पीएम पहिचान नगर्दा सुकेधारा र अनामनागर घट्टेकुलोमा बिस्फोट भएको थियो ।
टाइम बम, ड्रोन आक्रमण, बुलेट प्रुफ आक्रमणकारी निर्माणमा विप्लव नेकपा सक्रिय छ । प्रविधिको प्रयोग गरेर व्यक्ति टार्गेट गर्ने, आक्रमणमा संलग्न हुँदा बुलेटप्रुफ ज्याकेटको प्रयोग गर्ने, तल्ला तहका सुरक्षाकर्मी र नेताभन्दा माथिल्ला तहका नेता र माथिल्ला तहकै सुरक्षाकर्मीविरुद्ध आक्रमण गर्ने तयारी विप्लवले तयार गरेका छन् । प्रविधिकै लागि करोडौं रुपैयाँ विप्लवको पार्टीले विदेश पठाएको छ । विप्लव समूहले भारत, चीन, श्रीलंका, सिंगापुर, मलेसिया लगायतका विभिन्न देशमा करोडौं रुपैयाँ पठाएको छ ।
नेपाल प्रहरीको अनुमानमा दुई हजार हातहतियारसहितको युवादस्ता सक्रिय रहेको छ । एक जिल्लामा तालिमप्राप्त २५ जनासम्मको दस्ता सक्रिय रहेको छ । युवादस्तामा पूर्व लडाकु र सुरक्षाफौजबाट जागिर छाडेकाहरु सक्रिय छ । केही शहर बजारमा गुण्डागर्दी गर्नेहरुले पनि पार्टीको सहारामा आफ्नो धन्दा चलाइरहेका छन् । केही अत्याधुनिकसहितका हतियारसमेत विप्लवसँग रहेको अनुमान गरिएको छ ।
आर्थिक स्रोतका लागि जनप्रतिनिधि, व्यवसायी, कर्मचारी, शिक्षक लगायतसँग चन्दा उठाएका विप्लव नेकपाले पछिल्लो समय सुरक्षाकर्मीसँग पनि चन्दा उठाउन थालेको छ । नेपाल टेलिकमको फोन सेवा चलाउन छाडेका विप्लव नेकपाका नेताले स्याटेलाइट फोन चलाइरहेका छन् । केही नेता नेपालका ग्रामीण क्षेत्रमा भए पनि केही भारततर्फ लागेका छन् । बलियो नभए पनि विप्लव नेतृत्वको पार्टीले ग्रामीण क्षेत्रमा भने बिस्तारै प्रभाव बढाउँदै लगेको छ । नेपालको आन्तरिक सुरक्षाका लागि विप्लव समूह मुख्य चुनौती बनेको छ ।

कमाण्ड गर्ने विप्लवको पृष्ठभूमि
सरकारबाट प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका मुख्य कमाण्डर विप्लव हुन् । विप्लव रोल्पाको केवरीमा विस २०२४ साल फागुन ११ मा जन्मिएका हुन् । चित्रबहादुर चन्द र खुसीमाया घर्तीका कान्छो छोराका रुपमा जन्मिएका विप्लवको बाध्यकाल रोल्पामै बितेको थियो । विप्लवका तीन दिदी र दुई दाजु रहेका छन् । विप्लवले लिवाङको बालकल्याण माविबाट एसएलसी पास गरे । विस २०४५ सालमा उनको परिवार कपिलवस्तुमा बसाइँ सरेको थियो । अखिल छैटौंबाट २०३९ सालमा राजनीति शुरु गरेका विप्लव एसएलसीपछि नेपाल ल क्याम्पसबाट कानुनमा भर्ना भए । एकता केन्द्र मसालको सदस्य बनेका विप्लवले २०४८ सालमा स्नातक तहको तेस्रो वर्षमा अध्ययन गर्न पाएका थिएनन् । विप्लवले सुभद्रा मल्लसँग विवाह गरे । उनका दुई छोरा र एक छोरी छन् ।
राजनीतिक गतिविधिमा सक्रिय रहेको आरोपमा पटक–पटक जेल परेका विप्लव अहिलेसम्म कुनै पनि लाभको पदमा पुगेका छैनन् । पार्टीमा सक्रिय रहेपछि कपिलवस्तुमा रहेको आफ्नो जग्गा–जमिन पार्टीको नाममा बुझाएका थिए । २०५२ सालमा तत्कालीन विद्रोही नेकपा माओवादीले सशस्त्र संघर्षको थालनी गर्दा उनी अखिल क्रान्तिकारीको उपाध्यक्ष थिए । फागुन १ मा जनयुद्ध शुरु भएपछि उनी ललितपुरको पार्टी सेक्रेटरी बने । २०५४ मा उनको जिम्मेवारी कर्णाली उपक्षेत्रीय ब्यूरोको इन्चार्जका रुपमा रह्यो । २०५५ सालमा उनी नेकपा माओवादीको केन्द्रीय सदस्य बने । २०५९ सालमा उनी पोलिटब्यूरो र २०६१ सालमा उनी आधार इलाका ब्यूरोको इन्चार्जसमेत बने ।
शान्ति प्रक्रियामा आएपछि उनी प्रचण्डको अति निकटबाट टाढिँदै गएका थिए । प्रचण्ड पार्टीको अध्यक्ष हुँदा उनी केन्द्रीय सचिवसमेत बने । बालाजु, खरिपाटी र पालुङटार बैठकमा प्रचण्डले भावी नेतृत्वका रुपमा उनका बारेमा अभिव्यक्ति दिएका थिए । दुईवटै संविधानसभामा उम्मेद्वार बन्नका लागि आग्रह गर्दा पनि नबनेका विप्लव २०६९ सालमा प्रचण्डसँगको पार्टीबाट अलग भए । त्यसपछि मोहन वैद्यसँग पनि उनले २०७१ सालमा सम्बन्ध तोडे । अहिले उनी एकीकृत जनक्रान्ति र वैज्ञानिक समाजवादी क्रान्तिका लागि भन्दै भूमिगत भएका छन् । अहिले विप्लव प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका महासचिव हुन् ।
पूर्वराजा ज्ञानेन्द्रसँगको सम्बन्धका विषयमा उनलाई आलोचना गर्नेहरु पनि पार्टीभित्र छन् । दलहरुको विरोधका लागि पूर्व राजासँग सम्बन्ध गाँसके उनीमाथि आरोप छ । त्यति मात्र होइन भारतीय दूतावासलाई आफूहरुलाई सहयोग गर्न आग्रह गर्दै पत्राचार गरेको आरोप पनि उनीमाथि लागेको छ । व्यक्तिगत स्वार्थभन्दा पनि सामूहिक स्वार्थमा केन्द्रित हुने भएकाले कार्यकर्ताले उनलाई प्रिय नेताका रुपमा लिने गरेका छन् । पूर्व माओवादीका नेताले पनि उनी व्यक्तिगत स्वार्थभन्दा माथि उठ्ने नेता भएको बताएका छन् । तर, राजनीतिक हिसाबले अहिले पनि सशस्त्र संघर्षलाई माध्यम बनाउनु उनको मुख्य कमजोरी हो ।