बिचार

दौरा-सुरवालमार्फत प्रचण्डले दिन खोजेको सन्देश

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ निर्णय गर्न माहिर मानिन्छन् । मुलुक अनिर्णयको बन्दी बनेको धेरै पलहरुमा उनले गाठो फुकाउने काम गरेका छन् । पछिल्लो समय यस्तै निर्णयमार्फत मुलुकको कार्यकारी पदमा पुगेका प्रचण्डले पुनः एक पटक सबैको ध्यान आकर्षित गरेका छन् । त्यो हो, पोशाक । उनी यसअघि २०६५ र २०७३ सालमा गरी दुई पटक प्रधानमन्त्री बनिसकेका छन् ।

पहिलो कार्यकाल सत्ताको स्वाद नै चाख्न नपाई सेनापति काण्डका कारण राजिनामा गरेका उनले दोस्रंो कार्यकालमा भने लोडसेडिङ अन्त्यसहितका दूरगामी काम गरेका थिए । तेस्रो कार्यकाल उनका अगाडी अझ विषम परिस्थति छ । मानिसहरुमा सरकारले काम गर्छ भन्ने विश्वास मरिसकेको छ । यो अवस्थामा कार्यकारी पदमा पुग्दै गर्दा प्रचण्डले राष्ट्रिय पोशाकमार्फत एक साथ धेरै आलोचकको मुख थुन्ने प्रयास गरेका छन् ।

उनी युद्धमा हुँदा दौरा सुरवाललाई पहाडे सामन्ती पोशाकको संज्ञा दिने माओवादी नेताहरुले यस पोशाकलाई झट्ट स्वीकार गरेका थिएनन् । सोमबार प्रचण्डले पहिलो पटक दौरा सुरवाल लगाएका थिए । तर, उनले यसमार्फत राष्ट्रिय एकताको सन्देश भने प्रवाह गरेका छन् ।