समाचार

म भाषण होइन, काम गर्न आएको हुँ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले यो कार्यकालमा जनता र देशको पक्षमा काम गरेर प्रस्तुत हुने प्रतिज्ञा गरेको बताएका छन् । चितवनको नारायणी नमूना माध्यमिक विद्यालयको हिरक महोत्सव समारोहलाई शनिबार सम्बोधन गर्दै उनले अर्थतन्त्रको सुधार र सुशासनको पक्षमा काम गर्ने बताएका हुन् ।
मन्त्रिपरिषद्को पहिलो बैठकबाट नै अर्थतन्त्र सुधार लगायतका विषयमा कामको सुरुवात गरेको प्रधानमन्त्री दाहालको भनाइ थियो ।

प्रधानमन्त्री बनेपछि पहिलोपटक गृहजिल्ला चितवन पुगेका दाहालले भने, ‘मैले यो पटक हरेक दिन देश, जनता, सुशासन र विकासको पक्षमा काम गर्दै जाने प्रतिज्ञा गरेको छु । नेपाल र नेपाली जनताको आवश्यकतालाई सम्बोधन गर्दै जाने प्रतिबद्धता लिएको छु । मेरो बाँकी जीवन सुशासन र विकासको निम्ति समर्पित गर्ने भनेर प्रतिबद्धता गरेको छु ।’

प्रधानमन्त्री दाहालले भाषण गर्नेभन्दा पनि काम गर्ने आफ्नो प्रतिज्ञा रहेको बताए । ‘मैले यसपटक भाषण कम, काम र जनताको सेवा धेरै गरेर प्रस्तुत हुने प्रतिज्ञा गरेको छु, उनलदे भने । पहिलो मन्त्रिपरिषद्बाट देशको अगाडि रहेको अर्थतन्त्रमा सुधार र सुशासन कायम गर्नुपर्ने ऐतिहासिक आवश्यकताका क्षेत्रमा निर्णय लिएको उनले बताए ।

भ्रष्टाचार र बेथिति नियन्त्रण तथा जनताले विभिन्न ठाउँमा पाइरहेका सास्तिहरूलाई अन्त्य गर्ने निर्णय पनि पहिलो मन्त्रिपरिषद्बाट गरिएको उनले बताए । आगामी दिनमा पनि जनतालाई पिरमर्का पर्ने कुनै पनि निर्णय नगर्ने बताउँदै प्रधानमन्त्री दाहालले भने, ‘सुशासन र समृद्धिको नयाँ युगको सुत्रपात गर्न एकजुट हौं भनेर अपील गर्न चाहन्छु ।’