समाचार

नेपालका चाडपर्व राष्ट्रिय स्वाभिमान हुन् : प्रधानमन्त्री

काठमाडौं । नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक विशेषताले भरिएको सुन्दर देश भएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले अनेकतामा एकता र राष्ट्रिय स्वाभिमान साझा पहिचान भएको बताएका छन् । नेपालका प्रत्येक जातजाति र धर्मावलम्बीका आआफ्नै सांस्कृतिक महत्त्व बोकेका मौलिक चाडपर्व रहेको र त्यसले नयाँ उमङ्ग र उत्साहका साथ एक आपसमा एकता तथा सद्भाव स्थापित गर्न महत्त्वपूर्ण भूमिका खेल्दै आएको उनको भनाइ छ ।

प्रधानमन्त्री प्रचण्डद्वारा जारी सन्देशमा भनिएको छ, ‘भौगोलिक, जातीय र सांस्कृतिक विविधता रहेको नेपालमा एकै दिन पर्ने र एउटै नामको पर्वलाई पनि भिन्न–भिन्न भेग र समुदायमा भिन्न–भिन्न ढङ्गले मनाउने प्रचलन छ ।’ माघ महिनाको १ गते मनाइने यस पर्वलाई थारू समुदायले माघीलाई नयाँ वर्षका रुपमा पनि मान्ने गर्छन् ।

मगर समुदायले पनि यसलाई आफ्नो मुख्य चाडको रूपमा धुमधामका साथ मनाउँछन् । हिमाल, पहाड र तराईका बसोबास गर्ने क्षेत्री, बाहुन, राई, मगर, लिम्बु, नेवार, गुरुङ आदि जातजातिले यस पर्वलाई आआफ्ना परम्परा, भिन्न–भिन्न विशेषता र प्रकृतिले मनाउने गरेका छन् ।

RSS