फिचर

नेपाली युवा शिशिर बने युएसए नेशनल च्याम्पियन

काठमाडौं । नेशनल फिजिक कमिटि युएसए नेशनल च्याम्पियनसिप (एनपीसी युएसए नेसनल च्याम्पीएनसिप)मा नेपाली युवा च्याम्पियन बनेका छन् । नेपाली युवा शिशिर राना इन्टरनेशनल फेडेरेशन अफ बडीविल्डिङ एण्ड फिटनेश (आईएफबीबी) प्रोकार्ड प्राप्त गर्ने पुरुषतर्फ पहिलो नेपाली बनेका छन्। डिसेम्बर पहिलो साता अमेरिकाको फ्लोरिडा राज्यमा सम्पन्न प्रतिस्पर्धाका लागि उनले विभिन्न क्षेत्रिय प्रतियोगिताहरु जितेर सोप्रतियोगितामा छानिएका थिए ।

नेशनल च्याम्पियनसिपका लागि भएको कडा प्रतिस्पर्धामा रानाले आफ्नो वजन समूह, १४३.५पाउण्डका लागि १३ जनालाई उछिन्दै उपाधी जितेका हुन् । २५ वर्षीय रानाले सातवर्ष अघि शारीरिक सुगठनको यात्रा प्रारम्भ गरेका थिए। सामन्यतया प्रोकार्ड प्राप्त गर्न कम्तिमा १० देखि १५ वर्षको नियमित अभ्यास जरुरी हुने भएपनि रानाले छोटो समयमा यो सफलता प्राप्त गरेका हुन् । उनी कम उमेरमा प्रोकार्ड लिने केही सिमित विदेशी च्याम्पियनमा पनि परेका छन्।


सात वर्षसम्मको निरन्तर अनुशासित खानपान र व्यायमले आफुलाई यो स्थानमा पुर्याएको राना बताउँछन्। ‘मैले यो सात वर्षसम्म कुनै पनि पारिवारीक भेटघाट र चाडपर्वमा सामेल हुन सकिन’उनले भने, ‘मैले पहिलो नेपाली पुरुष प्रोकार्ड होल्डर हुने सपना बोकेर अभ्यासमा होमिएको थिए।‘


सन् २०१४ देखि आफ्नो परिवारसँग अमेरिकाको न्युयोर्कमा बसोबास गर्दै आएका रानाले कक्षा १०सम्मको अध्ययन काठमाडौंबाटै गरेका थिए। उनी अहिले सिटी युनिभर्सिटी अफ न्युयोर्कमा मेकानिकल इन्जिनियरिङका विद्यार्थी हुन्। उनले यी दुवैलाई संगै लैजान आफुले कडा मेहनत गरिरहेको बताए।

आइबीबी प्रोकार्ड प्राप्त गरेपछि राना समान कार्ड होल्डरसँग प्रतिस्पर्धाका लागि योग्य भएका छन् । त्यसमा छानिएमा उनले बडिबिल्डिङको उच्च स्थान मिस्टर ओलम्पियाका लागि प्रतिस्पर्धा गर्ने छन्।आफ्नो अबको सपना मिस्टर ओलम्पियामा नेपालको झण्डा फहराउनु रहेको रानाले बताए। नेपालमा बाग्लुङ स्थायी घर भएका राना सिंहबहादुर राना र चन्द्रिका देवी जिरेलका जेष्ठ छोरा हुन। उनका पिता सिंहबहादुर पनि नेपालमा करातेका राष्ट्रियस्तरका पुर्वखेलाडी हुन।