फिचर

क्यालिफोर्नियामा एक सातामा दुई गोली काण्ड, १८ जनाको मृत्यु

क्यालिफोर्निया । संयुक्त राज्य अमेरिकाको क्यालिफोर्निया एक साता भित्रै दुई घातक गोली काण्ड भएका छन् । घटनामा १८ जना मारिएका छन् । सोमबार क्यालिफोर्निया राज्यमा भएका दुईवटा गोलीकाण्डमा सात जनाको मृत्यु भएको छ। दुवै घटनामा संलग्न भएका सन्दिग्ध आक्रमणकारीलाई प्रहरीले पक्राउ गरेको छ।

सोही राज्यमा दुई दिनअघि एउटा नाचघरमा भएको घटनामा मृत्यु हुनेको सङ्ख्या ११ पुगेको छ। सोमवारका आक्रमणहरू समुद्री तटमा अवस्थित हाफ मुन बे सहरका दुई भिन्न स्थानमा भएका थिए। उक्त सहर सान फ्रान्सिस्कोबाट ५० किलोमिटर दक्षिणमा पर्छ। आक्रमणकारी सोही सहरमा बस्ने ६७ वर्षे पुरुष भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार उनको नाम झाओ चुन्ली हो। चिनियाँ नववर्षका बेला मन्टरे पार्क सहरमा भएको भयानक आक्रमणको दुई दिनपछि फेरि उस्तै प्रकृतिको घटना भएको छ। मन्टरे पार्क सहरमा एशियाली मूलका मानिसको बाहुल्य छ। सोमवारका घटनाका सन्दिग्ध आक्रमणकारी दुई घण्टापछि आफैँ प्रहरी कार्यालयमा आत्मसमर्पण गर्न गएको दृश्य सञ्चारमाध्यमहरूले खिचेका छन्।

उनले आक्रमण गरेर हत्या गरेका चार व्यक्तिको शव च्याउखेती गर्ने फारममा स्थानीय समयानुसार दिउँसो २स्२२ बजे फेला परेका थिए। पछि थप तीन जनाको शरीर नजिकै रहको एउटा स्थानमा फेला परे। सन्दिग्ध आक्रणकारीको उमेर ६७ वर्ष भएको प्रहरीले जनाएको छ ।

सान माटिओ काउन्टीकी प्रहरी अधिकारी क्रिस्टिना कर्पसले सन्दिग्ध आक्रमणकारी दिउँसो ४ः४० बजे स्थानीय प्रहरी कार्यालयमा गाडी चलाएर आएका थिए र उनलाई त्यहीँ पक्राउ गरिएको हो। प्रहरीले उनको साथबाट आक्रमणमा प्रयोग भएको एउटा अर्धस्वचालित पिस्टल फेला पार्‍यो। कर्पसका अनुसार उनले गोली हानेका आठौँ व्यक्तिको अस्पतालमा उपचार भइरहेको छ। उनको अवस्था गम्भीर छ।