फिचर

कतारमा एक नेपालीलाई पर्यो ८२ करोड रुपैयाँको चिट्टा

काठमाडौं । कतारमा कार्यरत नेपाली युवा रञ्जित कुमार पाललाई ८२ करोड रुपैयाँको चिट्टा परेको छ । अबुधाबीमा आयोजित बिग टिकट र्‍याफल ड्रको सिरिज २४८ मा २ करोड ३० लाख दिराम अर्थात झन्डै ८२ करोड नेपाली रुपैयाँ जितेको कम्पनीले जनाएको छ । विगत सात वर्षदेखि कतारको राजधानी दोहामा मनी एक्सचेन्ज कम्पनीमा कार्यरत उनले २३२९३६ नम्बरको टिकट जनवरी १६ मा खरिद गरेका थिए। पाँच र १० वर्षका दुई छोराका बुबा पाल बिग टिकटका प्रतिनिधिबाट यो अप्रत्याशित चिठ्ठा परेको खबर सुनेर निकै खुसी भएका प्रतिक्रिया दिएका छन् ।

जितेको यो पैसा नेपाल फर्केर मेरो परिवारमा खर्च गर्ने उनले बताए । पालले विगत १५ महिनादेखि २० साथीहरूको समूहसँग मिलेर बिग टिकटहरू खरिद गर्दै आएका थिए। आगामी दिनमा पनि त्यसलाई निरन्तरता दिने उनको योजना छ।
ड्रको क्रममा अन्य नगद र ड्रिम कार पुरस्कार भारतीय नागरिकले जितेका थिए। दोस्रो, तेस्रो र चौथो पुरस्कार विजेता विजेश विश्वनाथनले १ मिलियन दिराम, यस्तै शिबु म्याथ्यू ले १ लाख दिराम र अजित रामचन्द्रकैमल ५० हजार दिराम रकम चिठ्ठामा जितेका थिए।

यस्तै सुमन मुथैया नाडर रागावनले नयाँ रेन्ज रोभर प्राप्त गरेका थिए। मार्च ३ मा हुने अर्को ड्रमा, एक भाग्यशाली विजेताले १ करोड ५० लाख दिराम पाउँनेछन्। दोस्रो पुरस्कार १० लाख दिराम, तेस्रो पुरस्कार १ लाख दिराम र चौथो पुरस्कार ५० हजार दिराम छ।