विज्ञान प्रविधि

एक बेलुनका कारण अमेरिका–चीन बहसमा

Sky news

काठमाडौं\बीबीसी । यसै साता अमेरिका र क्यानडाको आकाशमा देखिएको एक सन्दिग्ध बलुन गैर सैनिक भएको र मौसम अनुगमनका लागि छोडिएको चीनले बताएको छ। जासुसी उपकरण जडित भएको आशङ्कामा अमेरिकाले निगरानी गरिरहँदा चीनले उक्त बेलुन निर्धारित बाटो बिराएर गएको प्रस्टीकरण दिएको हो।

चिनियाँ विदेश मन्त्रालयले एक वक्तव्य जारी गर्दै उक्त बलुन अनपेक्षित रूपमा अमेरिकी हवाई क्षेत्रमा प्रवेश गरेको भन्दै खेद व्यक्त गरेको छ। यसअघि पेन्टागनका अधिकारीहरूले आफूहरू उच्च स्थानमा उड्ने उक्त निगरानी बलुन चीनकै भएकोमा विश्वस्त रहेको बताएका थिए ।


अमेरिकी सैनिक नेतृत्वले सुरक्षा जोखिमका कारण देखाउँदै कथित जासुसी उपकरणलाई आफ्नो आकाशमा उड्न नदिने निर्णय गरेको थियो। तर गोली हानेर खसाल्दा त्यसमा जडित उपकरणहरूको टुक्राबाट जमिनमा रहेका मानिसहरूलाई क्षति पुग्न सक्ने जोखिम औँल्याइएको छ।

अमेरिकी राष्ट्रपति जो बाइडनलाई यस अवस्थाबारे जानकारी गराइएको पेन्टागनले जनाएको छ। ह्वाइट हाउसले उक्त बलुनलाई प्रहार गर्ने आदेश दिएको खण्डमा अमेरिकी सरकार एफ २२ लगायतका लडाकु विमानहरूसहित तयारी अवस्थामा रहेको पहिचान गोप्य राख्ने सर्तमा एक जना रक्षा अधिकारीले जानकारी दिए।

उक्त उड्डयन सामग्री बुधवार निकै कम जनसङ्ख्या भएको पश्चिमी अमेरिकी राज्य मोन्टानामा देखियो। त्यहाँ पारमाणविक क्षेप्यास्त्रको अड्डा छ। पेन्टागनका अधिकारीहरूका अनुसार बुधवार खतराको आकलन गर्न रक्षामन्त्री लोइड अस्टिन र यूएस चिफ्स अफ स्टाफका अध्यक्ष जनरल मार्क मिली लगायत अमेरिकी सेनाका उच्च अधिकारीहरूको बैठक बसेका थिए। सैन्य कमान्डरहरूले बलुनविरुद्ध गति केन्द्रित कारबाही नगर्न सल्लाह दिए। त्यसो गर्दा त्यसको भग्नावशेष भुईँमा खस्ने जोखिम हुने उनीहरूको राय छ।


त्यो बेलुन ठ्याक्कै कहाँ छ र कता जाँदै छ भनेर थाहा भएकाले अमेरिकी गुप्तचरविरुद्ध उल्लेखनीय रूपमा खतरा नभएको वरिष्ठ रक्षा अधिकारीले बताए।
बलुन व्यावसायिक एअरलाइन्सको विमान उड्नेभन्दा धेरै माथि रहेकाले नागरिक उड्डयनमा पनि कुनै खतरा नभएको उनले बताए। अमेरिकाले वासिङ्टन डिसीस्थित चिनियाँ दूतावास र बेइजिङमा रहेका चिनियाँ अधिकारीहरू समक्ष यस विषय उठाएको रक्षा अधिकारीले जानकारी दिए।

हामीले यस मुद्दालाई गम्भीरताका साथ लिएको बारे उनीहरूलाई जानकारी गराएका छौँ,’ अधिकारीले भने। वासिङ्टन डिसीस्थित चिनियाँ दूतावासले यस विषयमा तत्काल टिप्पणीका लागि गरिएको अनुरोधमा प्रतिक्रिया जनाएन। सन्दिग्ध वस्तु बुधवार मोन्टाना सहरमा देखा पर्नुअघि अलास्काको अलेउटियन टापुहरू र क्यानडा हुँदै बिलिङ्ग्समा उडेको अधिकारीहरूले बताए। पेन्टागनमा बिहीवार भएको ब्रिफिङका क्रममा भने अधिकारीहरूले उक्त बलुन अहिले कहाँ छ भन्ने कुरा खुलाउन चाहेनन्।

उनीहरूले त्यसको आकारसहित थप विवरणहरू उपलब्ध गराउन समेत अस्वीकार गरे। उनका अनुसार विगत केही वर्षहरूयता अमेरिकाको आकाशमा यस्तै बलुनहरू देखा परेका छन्। तर अहिले देखिएको बलुन लामो समयको लागि यताउता गरिरहेको देखिन्छ र अघिल्ला जासुसी उपकरणहरूभन्दा बढी दृढ रहेको छ।