समाचार

युएसएआइडी प्रमुखबाट नेपाललाई ७ अर्ब सहायता घोषणा

काठमाडौं । युएसएआइडीकी प्रशासक समान्था पावरले नेपाल सरकारलाई करिब ६ करोड डलर सहयोग गर्ने घोषणा गरेकी छन्। प्रशासक पावरले मंगलबार सरकार, नागरिक समाज र निजी क्षेत्रका नेतृत्वकर्ताहरूमाझ नेपालको लोकतान्त्रिक उन्नतिलाई अघि बढाउन ५ करोड ८५ लाख अमेरिकी डलर (७ अर्ब रुपैयाँभन्दा बढी) सहयोग दिने घोषणा गरेकी हुन्। सो रकम स्रोतको उपलब्धतामा निर्भर हुने युएसएआइडीले जनाएको छ।

युएसएआइडीका अनुसार उक्त घोषणाको रकममध्ये ४ करोड २ लाख डलर सन् २०२२ मा घोषित ६५ करोड ९० लाख अमेरिकी डलरको विकास उद्देश्य सम्झौताको एक अंश हो। लगानीले सार्वजनिक वित्तीय व्यवस्थापन, स्वतन्त्र नागरिक समाज तथा सञ्चार माध्यम, लोकतान्त्रिक प्रक्रिया तथा संस्था, कानुनी शासन र निजी क्षेत्र विकासको सुदृढीकरण गर्ने भनिएको छ।

नेपाललाई आफ्ना लोकतान्त्रिक उपलब्धीहरू मजबुत पार्न र नेपालीहरूका निम्ति अझ बृहत् समृद्धि र उत्थानशीलता भित्र्याउन मद्दत गर्ने युएसएआइडीले जनाएको छ। साथै यसले मानव बेचबिखनविरूद्ध लड्न पनि सहयोग पुग्ने जारी गरिएको विज्ञप्तिमा उल्लेख छ।

उक्त लगानीमा प्रादेशिक तथा स्थानीय सरकारहरूलाई सहयोग गरी नेपालमा समावेशी लोकतन्त्र र समृद्धिको सुदृढीकरण गर्न दुई करोड डलरसम्म छुट्याएको छ। ‘उक्त लगानीमा सामुदायिक आवश्यकता, आधारभूत स्वतन्त्रता र जवाफदेहितालाई अघि बढाउन महिला, युवा र सीमान्तकृत समुदायहरूका नेतृत्वमा र उनीहरूकै निम्ति बनेका स्वतन्त्र नागरिक समाजका संस्थाहरूलाई सहयोग गर्न १ करोड ८५ लाख डलरसम्मको रकम समाविष्‍ट छ,’ जारी विज्ञप्तिमा भनिएको छ।