विश्व

रुसलाई हतियार दिइरहेको आरोपको चीनले गर्यो खण्डन

KREMLIN.RU/AFP

काठमाडौं । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कनले चीन रुसलाई घातक शस्त्रास्त्र र गोलीगट्ठा उपलब्ध गराउने विचारमा रहेको आरोप लगाएपछि बेइजिङले त्यसको खण्डन गरेको छ। तर चीनले युक्रेनमा परिचालित रुसी फौजलाई गोप्य सैन्य सूचना उपलब्ध गराइरहेको हुनसक्ने बीबीसीले लेखेको छ । चीन रुसका लागि एउटा महत्त्वपूर्ण व्यापारिक साझेदार भएको समाचारमा उल्लेख छ । चीनले सैन्य सामग्री उत्पादन गर्ने आफ्नो क्षमता बढाइरहेको छ।

चीन अहिले विश्वको चौथो ठूलो अस्त्र निर्यातकर्ता हो। ‘चीनका अस्त्रहरू निकै उन्नत बनिरहेका छन्, स्टकहोम इन्टर्न्याश्नल पीस रिसर्च इन्स्टिट्यूटका सिएमुन भेसेमानले भनेका छन् । चिनियाँ कम्पनीहरूले रुसलाई गैरघातक सहयोग उपलब्ध गराइसकेको र बेइजिङले घातक सहयोग पनि उपलब्ध गराउन सक्ने जानकारी आफूले पाएको अमेरिकाको दाबी छ। त्यसो भए चीनले गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी वाशिङ्टनले दिएको थियो ।


इन्टर्न्याश्नल इन्स्टिट्यूट अफ स्ट्रटीजिक स्टडीजसँग आबद्ध तथा आर्थिक प्रतिबन्धहरूसँग सम्बन्धित विषयकी विज्ञ मारिया शगिनाका अनुसार चीनले देखिनेगरी रुसलाई हातहतियार उपलब्ध गराएको छैन तर उसले गोप्य रूपमा सैन्य प्रयोजन भएका उन्नत प्रविधियुक्त सामानहरू बेचिरहेको हुन सक्छ। ूसैन्य र गैरसैनिक उद्देश्यबीच विद्यमान अस्पष्ट क्षेत्रको फाइदा उठाउँदै केही चिनियाँ कम्पनीहरूले गैरसैनिक ड्रोन आपूर्ति गरिरहेको बताइएको छ ।

अमेरिकास्थित सेन्टर फर एड्भान्स्ड डिफेन्स स्टडीजका अनुसार चिनियाँ कम्पनीहरूले रुसलाई विमानभेदक क्षेप्यास्त्रका रेडारका लागि आवश्यक विद्युतीय पार्टपुर्जा पठाइरहेको हुनसक्छन्।

युक्रेनमा रुसको पक्षमा लडिरहेका भाडाका सैनिकहरूको समूहलाई स्याटलाइटबाट प्राप्त तस्बिरहरू उपलब्ध गराएको आरोप लगाउँदै अमेरिकाले एउटा चिनियाँ कम्पनीविरुद्ध प्रतिबन्ध लगाएको छ। गत वर्ष रुसले युक्रेनमा धावा बोलेपछि पश्चिमा राष्ट्रहरूले रुसविरुद्ध कडा प्रतिबन्धहरू लगाए। त्यसबाट रुसी तेलको आयात र उन्नत प्रविधि प्रयोग गरेर निर्माण गरिएका सामानहरूको निर्यात प्रभावित भएका थिए ।

धेरै पश्चिमा कम्पनीहरूले रुससँगको सम्बन्ध विच्छेद गरे। रुसको संयुक्त राज्य अमेरिका, यूके र ईयूका राष्ट्रहरूसँगको व्यापार पनि खस्कियो। तर गत वर्ष चीनको रुससँगको व्यापार अहिलेसम्मको सर्वाधिक तहमा पुगेको थियो । अघिल्लो वर्षको तुलनामा ३० प्रतिशतको वृद्धिसहित चीनले रुससँग १९० अर्ब डलरको व्यापार गरेको छ । रुसले सन् २०२२ मा चीनलाई अघिल्लो वर्षको तुलनामा दुई गुना एलपीजी निर्यात गरेको समेत तथ्यांक छ ।