समाचार

विश्वकपमा प्रवेशमा भविश्य निर्धारण गर्ने महत्वपूर्ण खेल खेल्दै नेपाल, यूएईविरुद्ध पहिले फिल्डिङ

काठमाडौं । एक दिवसीय विश्वकपको अन्तिम छनोटको ढोका खोल्न महत्वपूर्ण मानिएको आफ्नो अन्तिम खेलमा आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत आज नेपालले यूएईको सामना गर्दैछ । नेपालले टस हारेर पहिले फिर्डिङ गर्ने भएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा युएईका कप्तान मोहम्मद वासिमले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेका छन् । नेपालले आज टोलीमा एक परिवर्तन गरेको छ। तिब्र गतिका बलर करण केसीको स्थानमा गुल्सन झालाई मौका दिइएको छ।

नेपालले प्रतिश जिसी, ज्ञानेन्द्र मल्ल र करण केसीलाई बेन्चमा राखेको छ। टोलीमा अन्य परिवर्तन छैन। उता युएईले तीव्र गतिका बलर जुनैद्द सिद्दिकलाई मौका दिँदा जवार फरिदलाई बेन्चमा राखेको छ। घरेलु टोली नेपालले आज युएईलाई पराजित गर्न सके जुन जुलाईमा जिम्बावेमा हुने विश्वकप छनोटमा सोझै खेल्न पाउछ। यदि पराजित भएमा यसै महिना अन्तिममा नामिबियामा हुने क्वालिफायर प्लेअफ खेल्नुपर्ने हुन्छ।

साढे ९ बजेदेखि सुरू हुने खेलमा बिहान सात बजेदेखि दर्शकहरू रंगशाला पुगेका छन् । मैदान प्रवेशको लागि सयौँ समर्थकको भिड लागेको छ।
क्यानले बुधबार साँझ नै सबै टिकट बिक्री भइसकेको जानकारी दिएको छ। क्यानले ११ हजार टिकट बिक्रि भएको जानकारी दिँदै आज बिहान गेटमा टिकट नबेच्ने जानकारी दिएको थियो।