समाचार

बेलायतले नेपाललाई १४ अर्ब अनुदान दिने

काठमाडौं । बेलायतले नेपालको स्थानीय पूर्वाधार विकास कार्यक्रमका लागि १४ अर्ब ४ करोड रुपैयाँ अनुदान सहयोग गरेको छ । अर्थ मन्त्रालयमा बिहीबार नेपालका लागि बेलायती राजदूत निकोला पोलिट तथा अर्थसचिव तोयम रायाबीच यससम्बन्धी समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भयो । कार्यक्रममार्फत १७ लाख मानिस लाभान्वित हुने जनाइएको छ ।

बेलायत र नेपालबीच पूर्वाधार निर्माण, मर्मतसम्भार र पुनर्निर्माणमा सहकार्यको लामो र गौरवशाली इतिहास रहेको राजदूत पोलिटले बताइन् । ‘यसले ६ दशकमा नेपाली जनताका लागि महत्त्वपूर्ण नतिजा दिएको छ, जसका लागि हामी र नेपाल सरकार अत्यन्तै गौरवान्वित छौं । यस नयाँ कार्यक्रममार्फत हामीले लिने दृष्टिकोणले स्थानीय निर्णय लिने र सेरुइस डेलिभरीलाई उच्च स्थानमा राख्नेछ र थप जवाफदेही, बलियो स्थानीय सरकार निर्माण गर्न मद्दत गर्नेछ,’ उनले भनिन्, ‘यो नयाँ दृष्टिकोणले नेपाल सरकारलाई पूर्वाधार पुर्‍याउने तरिकामा सुधार गर्न पनि मद्दत गर्नेछ ।’

लामो समयदेखि नेपालको सामाजिक र आर्थिक विकासमा बेलायतको योगदान एवं सहयोग निरन्तर रहेको अर्थसचिव रायाले बताए । यस कार्यक्रमले स्थानीय तहको पूर्वाधार, स्थानीय सरकारको क्षमता अभिवृद्धि र जनजीवनको गुणस्तर अभिवृद्धिमा समेत सहयोग पुग्ने उनको भनाइ छ ।