विश्व

अमेरिकासँग भारी मात्रामा हतियार किन्दै अष्ट्रेलिया

file

काठमाडौं । अमेरिकी विदेश मन्त्रालयले अस्ट्रेलियालाई ८९ करोड ५० लाख अमेरिकी डलर बराबरको करिब २२० क्रूज क्षेप्यास्त्र बिक्री अनुमोदन गरेको छ।
कांग्रेसबाट पारित हुनुपर्ने बिक्रीसम्बन्धी उक्त प्रस्ताव अन्तर्गत लामो दूरीसम्म मार हान्न सक्ने टमाहक क्षेप्यास्त्र र प्राविधिक सहयोग समेत समावेश गरिएको बीबीसीले उल्लेख गरेको छ । क्रूज प्रकृतिका क्षेप्यास्त्रहरू हावामा उडानमा रहेका बेला तलमाथि जाने वा मार्ग परिवर्तन गर्न सक्ने क्षमताका हुन्छन्।

यो गुणले गर्दा क्रूज क्षेप्यास्त्रहरूले तिनका निसानामा विभिन्न अनपेक्षित कोणबाट आक्रमण गर्न सक्छन्। जहाजबाट समेत प्रहार गर्न सकिने यी क्षेप्यास्त्रहरू इन्डो–प्यासिफिक क्षेत्रमा चीनको प्रभाव कम गर्न भनेर घोषणा गरिएको ओकस रक्षा सम्झौता अन्तर्गत अस्ट्रेलियाले अमेरिकाबाट प्राप्त गर्ने भर्जिनिया श्रेणीको पनडुब्बीले प्रयोग गर्नेछन्।

अस्ट्रेलियाका रक्षामन्त्री रिचर्ड मार्लेसले ती क्षेप्यास्त्रले वास्तवमै महत्त्वपूर्ण क्षमता प्रदान गर्ने बताएका छन्। यस सम्झौताले देशलाई यथास्थितिबाट केही फरक अवस्थामा पुग्न मद्दत गर्ने र यसरी नै अस्ट्रेलियालाई सुरक्षित आफूहरू राख्न सक्षम भएको मन्त्रीले अस्ट्रेलियन ब्रोडकास्टिङ कर्पोरेसन (एबीसी) लाई बताए।