समाचार

के साच्चै पक्राउ पर्न सक्छन् पुटिन ?

काठमाडौं । द हेगस्थित अन्तर्राष्ट्रिय फौजदारी अदालतले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । यसले आम मानिसमा जिज्ञासा पैदा भएको छ, के पुटिन साच्चिकै पक्राउ पर्न सक्छन् ? अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार पक्राउ पूर्जी एउटा लामो प्रक्रिया अन्तर्गतको पहिलो कदम मात्रै हो। संयुक्त राष्ट्रसङ्घले स्पष्ट रूपमा के विश्वास गरेको छ भने रुसी नेतालाई युक्रेनमा भएका युद्ध अपराधका लागि आरोप लगाउन पर्याप्त प्रमाण भने छन्।

तर यस्ता मुद्दालाई अघि बढाउन व्यावहारिक र स्रोत साधनसम्बन्धी ठूला समस्या देखा पर्ने बीबीसीले लेखेको छ । उता, अमेरिकी राष्ट्रपति जो बाइडनले पुटिनविरुद्ध पक्राउ पुर्जी जारी गर्ने निर्णयको स्वागत गरेका छन्। उनले संवाददाताहरूसँग कुरा गर्दै पुटिनले स्पष्ट रूपमा युद्ध अपराध गरेको बताए।


अहिलेको अवस्थामा आफ्नो देशभित्र पुटिनलाई चुनौती दिनसक्ने कुनै पनि शक्ति छैन। त्यही भएर क्रेमलिनले उनलाई आईसीसी समक्ष बुझाउने कुनै सम्भावना नभएको समेत समाचारमा बताइएको छ । उनी रुसभित्रै रहेसम्म पक्राउ पर्ने कुनै जोखिम छैन। उनी देशबाहिर गएको अवस्थामा भने पक्राउ पर्न सक्छन्। तर अन्तर्राष्ट्रिय प्रतिबन्धले आवतजावतको स्वतन्त्रता गम्भीर रूपमा सङ्कुचित भइसकेकाले आफूविरुद्ध मुद्दा चलेको देख्न चाहने कुनै पनि मुलुकको भ्रमण उनले गर्ने छैनन् ।

रुसी फौजले फेब्रुअरी २०२२ मा युक्रेनमा आक्रमण गरेयता उनले जम्मा ८ वटा देशको भ्रमण गरेका छन्। त्यसमध्ये सातवटा रुस नजिकैका देश पर्छन् र ती सन् १९९१ को अन्त्यमा सोभियत सङ्घ विघटन हुनुअघिसम्म त्यसकै हिस्सा रहेका थिए। त्यसबाहेक उनले अघिल्लो वर्षको जुलाईमा इरानको भ्रमण गरेर त्यहाँका सर्वोच्च नेता आयातोल्लाह अली खामेनेईसँग भेटेका थिए। इरान रुसको पक्षमा उभिएको छ र उसले युक्रेनविरुद्धको लडाइँका लागि ड्रोन र अन्य सैन्य सामाग्रीहरू मस्कोलाई उपलब्ध गराइरहेको छ। तेहरानको भ्रमण गर्दा पनि उनलाई कुनै जोखिम देखिँदैन।