विश्व

युद्ध अन्त्य गर्न सक्ने पुटिनको संकेत

KREMLIN.RU/AFP

काठमाडौं बीबीसी । युक्रेनका लागि चीनले तयार गरेको शान्ति योजनाहरूलाई युद्ध अन्त्य गर्ने आधार बनाउन सकिने रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बताएका छन्। यद्यपि, पश्चिम र किएभ तयार भएपछि मात्र ती योजना कार्यान्वयनका लागि अघि सार्न सकिने उनको भनाई छ। रुसी राष्ट्रपतिले मङ्गलवार मस्कोमा चिनियाँ राष्ट्रपति सी जिन्पिङसँग द्वन्द्व र दुई देशबीचको सम्बन्धबारे छलफल गरेका थिए।

गत महिना प्रकाशित चीनको योजनाले रुसी सेनालाई युक्रेनी भूभाग छोड्न स्पष्ट आह्वान गरेको छैन। बाह्र बुँदाहरू सूचीबद्ध योजनामा कुनै विशेष सर्त बिना शान्ति वार्ता र राष्ट्रिय सार्वभौमसत्ताको सम्मान गर्न सुझाव दिइएको छ। युक्रेनले कुनै पनि वार्ताका लागि रुसले आफ्नो भूभाग छोड्नु पर्ने बताएको छ। तर रुस त्यसो गर्न तयार भएको सङ्केत देखिँदैन।

अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिङ्कनले सोमवार ुयुक्रेनी भूभागबाट रुसी सेनालाई हटाउनेबारे केही उल्लेख नगरी युद्ध विराम आह्वान गर्नुले रुसको जितलाई अनुमोदन गर्न बल पुर्‍याउनेु बताएका थिए। सीसँगको बैठक सकिएपछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा पुटिनले भने, ‘चिनियाँ शान्ति योजनाका धेरै प्रावधानहरूलाई युक्रेनमा द्वन्द्व समाधानको आधारका रूपमा लिन सकिन्छ। तर त्यसका लागि पश्चिम र किएभ तयार हुनुपर्छ।’

तर रुसले युद्धको दोस्रो पक्षबाट यस्तो तत्परता देख्न नसकेको उनले बताए। रुसी नेतासँगै उभिएका सीले आफ्नो सरकार शान्ति र वार्ताको पक्षमा रहेको र चीन इतिहासको सही पक्षमा रहेको बताए। उनले बेइजिङलाई सम्भावित शान्ति निर्माताका रूपमा प्रस्तुत गर्न खोज्दै युक्रेन युद्धबारे चीन निष्पक्ष रहेको दाबी गरे।

यी दुई शीर्षस्थ नेताले आफ्ना देशहरूबीचको बढ्दो व्यापार, ऊर्जा र राजनीतिक सम्बन्धका बारेमा पनि छलफल गरेका थिए। चीन रुसको प्रमुख वैदेशिक व्यापार साझेदार हो, राष्ट्रपति पुटिनले चीनसँगको गत वर्ष सुरु भएको उच्च स्तरीय व्यापार सम्बन्ध कायम राख्ने वाचा गर्दै भने। यसअघि सीले चीन र रुसलाई महान् छिमेकी शक्ति तथा रणनीतिक साझेदारुको संज्ञा दिएका थिए।