समाचार

गैरआवासीय नेपाली संघद्धारा आविष्कार केन्द्रलाई कृषि सामग्री सहयोग

काठमाडौं ।गैरआवासीय नेपाली संघ (एनआरएनए) ले राष्ट्रिय आविष्कार केन्द्रलाई ६३ लाख ९ हजार ७२ रुपैयाँ बराबरको सामग्री सहयोग गरेको छ । सामाजिक साझेदारीको अवधारणा अन्तर्गत एनआरएनएले १२ वैशाख २०७२ को विनाशकारी महाभूकम्पपछिको पुर्ननिर्माणका क्रममा सुरु गरेको लाप्राक बस्ती विकास आयोजनाका लागि खरिद गरिएका निर्माण उपकरण, औजार र सवारी साधन सहयोग गरेको हो । एनआरएनएले बालुवाटारस्थित एनआरएनए सचिवालयले खरिद गरेका फर्निचर तथा सामग्री पनि एनआईसीलाई सहयोग गरेको छ ।

उक्त उपकरण तथा सामग्रीहरु आविष्कार केन्द्रले वीरगञ्जस्थित कृषि औजार कारखाना लिमिटेडको पुर्नस्थापनाका लागि प्रयोग गरिने संघले जनाएको छ ।

उक्त अवसरमा संघका कार्यकारी अध्यक्ष रविना थापाले आविष्कार केन्द्रका प्रमुख महावीर पुनले राष्ट्रिय आविष्कार केन्द्रको स्थापनासहित मुलुकमा वैज्ञानिक अनुसन्धान, सूचना–प्रविधि तथा समाजका अन्य क्षेत्रमा राष्ट्रको उन्नति र सम्वर्द्धनका लागि पुर्‍याएको योगदानको प्रशंसा गरिन् । एनआरएनएले प्रदान गरेका ती उपकरणले प्रविधि र विज्ञानको क्षेत्रमा सहयोग पुग्ने विश्वास रहेको उनले बताइन् ।

संघका अध्यक्ष कुल आचार्यले विदेशमा बसेका नेपालीहरुले आविष्कार केन्द्रलाई सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए । कार्यक्रममा आविष्कार केन्द्रका प्रमुख पुनले संघले गरेको सहयोगप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि सहयोगको अपेक्षा राखेको बताए ।

संघले यसअघि पनि आविष्कार केन्द्रलाई १२ लाख ८७ हजार रुपैयाँ बराबरको सहयोग हस्तान्तरण गरिसकेको छ । आविष्कार केन्द्रलाई प्रोत्साहन गर्न संघका पूर्वअध्यक्ष भवन भट्टद्वारा स्थापित रु एक करोड राशिको ‘भवन किर्ती रत्न’ पुरस्कार आविष्कार केन्द्र तथा एनआईसीका संस्थापक पुनलाई प्रदान गरिएको थियो ।