फिचर

विश्व बैंकले शिक्षा क्षेत्र सुधारका लागि नेपाललाई १२ करोड अमेरिकी डलर ऋण दिने

काठमाडौं । विश्व बैंकले नेपाललाई १२ करोड अमेरिकी डलर (झण्डै १६ अर्ब रुपैयाँ) बराबरको अनुदान दिने भएको छ ।

विद्यालय शिक्षा क्षेत्र कार्यक्रमका लागि यो रकम सहुलियतपूर्ण ऋणका रूपमा दिन लागेको आइतबार प्रेस विज्ञप्ति मार्फत जनाएको छ।

यो अनुदान कोभिड-१९ का कारण बन्द भएका विद्यालयका कारण भएको हानीलाई सम्बोधन गर्न, उपयुक्त कक्षा कोठा निर्माण तथा डिजिटल शिक्षणलाई सुदृढ गर्न प्रयोग हुने समेत विश्व बैंकले जनाएको छ ।

साथै नयाँ कार्यक्रमले विद्यार्थीको गुणस्तरीय सिकाइ सुनिश्चित गर्न शिक्षक निगरानी व्यवस्था लागू गर्ने विज्ञप्तिमा उल्लेख छ। उच्च आधारभूत र माध्यमिक तहका अंग्रेजी, गणित र विज्ञान विषयको शिक्षणलाई यो कार्यक्रम मार्फत प्रभावकारी बनाइने जनाइएको छ।

खासगरी हरित कक्षाकोठा, डिजिटल शिक्षण एवं सिकाइमा सुधारका लागि यो रकम खर्च हुनेछ। त्यसैगरी, कक्षा ६-८ का छात्रा, अपाङ्गता भएका विद्यार्थी र आर्थिक रूपमा कमजोर परिवारका बालबालिकाको शैक्षिक सुधारका लागि छात्रवृत्ति दिन सघाउने विश्व बैंकले जनाएको छ।