समाचार

आफ्नो भ्रमणलाई सवारी नभन्न राष्ट्रपतिको आग्रह

तस्बिरः किरणराज विष्ट / रासस

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आफ्नो भ्रमणलाई ‘सवारी’ शब्द प्रयोग नगर्न आग्रह गरेका छन् । आइतबार गोरखा दरबारको अवलोकन र गोरखकालीमा पूजापाठपछि गोरखा संग्रहालय परिसरमा जिल्लाका सरोकारवालासँग भेट गर्दै उनले यस्तो आग्रह गरेका हुन् । ‘सवारी शब्दको रुढ मिनिङ हुन्छ, यसलाई सामन्तवादको प्रतीकको रुपमा लिइन्छ,’ उनले भने, ‘त्यसैले अघिपछि गाडीको सन्दर्भमा प्रयोग गरेपनि भ्रमणको सन्दर्भमा सवारी शब्द प्रयोग नगरौं ।’

सवारी शब्दको ठाउँमा आवागमन शव्द प्रयोग गर्न उनले आग्रह गरे । गणतन्त्र र राजतन्त्रको राष्ट्राध्यक्षबीच फरक हुने भन्दै पौडेलले आफूले यस्ता विषय राष्ट्रपति चुनावकै बेलादेखि हेक्का राख्दै आएको समेत बताए । राष्ट्रियता र प्रजातन्त्रको संरक्षण र सम्वद्र्धन गर्ने आफ्नो प्रमुख जिम्मेवारी र कर्तव्य रहेको उनले बताए ।

नेपालको तेस्रो राष्ट्रपति निर्वाचित भएपश्चात काठमाडौ बाहिरको पहिलो भ्रमण ऐतिहासिक र धार्मिक महत्वको जिल्ला गोरखामा गर्न पाएको भन्दै उनले खुशी व्यक्त गरे । ठूलोआँगनस्थित पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेका पौडेलले आफूले गोरखामा राम शाह र बिसे नगर्ची पनि सम्झिएको बताए ।

‘गोरखा आएर मैले रामशाहको न्यायको कुरा पनि सम्झेको छु, बिसे नगर्चीको कर्तव्यबोध पनि सम्झेको छु, मलाई गोरखामा स्वागत गर्नुहुने सबैलाई धन्यवाद दिन चाहन्छु,’ उनले भने ।