विज्ञान प्रविधि

वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई लक्षित गरी सुरु हुँदै टेलिमेडिसिन सेवा

काठमाडौं । वैदेशिक रोजगारीमा गएका नेपाली श्रमिकले टेलिमेडिसिन सेवा पाउने भएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले २ फागुनमा टेलिमेडिसिन सेवा सञ्चालन कार्यविधि, २०७९ स्वीकृत गरेको थियो । वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकहरुको स्वास्थ्य सम्बन्धी समस्या समाधानका लागि आवश्यकताअनुसार समयमा नै सल्लाह, सुझाव र परामर्श सेवा उपलब्ध गराउने गरी सेवा दिन लागिएको वैदेशिक रोजगार बोर्डको सचिवालयले जनाएको छ । १५ चैत गते बुधबार बिहान १० बजेदेखि सेवा सुरुवात हुनेछ । सार्वजनिक विदाका दिनबाहेक नेपाली कार्यालय समय बमोजिम सेवा प्रवाह गरिने बोर्डले जनाएको छ ।

यो सेवा लिन चाहने नेपाली श्रमिकले मोवाइल नम्बर ९८५१३४५७०१ र ९८५१३४५७०२ को भाइबर, हवाटस एप वा इमो लगायतका सामाजिक सञ्जालबाट फोन गर्न सक्नेछन् । कल टेलिमेडिसिनका मेडिकल अधिकृतले रिसिभ गरेर बिमारी कामदारलाई विशेषज्ञ सेवा आवश्यक परेमा मेडिकल अधिकृतको सिफारिसमा हरेक आइतबार र शुक्रबार विशेषज्ञ सेवा उपलब्ध गराउनेछन् । विशेषतः आइतबार र शुक्रवार गन्तव्य मुलुकमा सार्वजनिक विदा पर्ने भएकोले सो दिनमा विशेषज्ञ सेवा उपलब्ध गराउन खोजिएको बोर्डले जनाएको छ ।

सेवा लिने श्रमिकको प्रेस्क्रिप्सन अनलाइनमार्फत उपलब्ध गराइने छ । सम्पूर्ण खर्च वैदेशिक रोजगार बोर्डले नै व्यहोर्ने छ । यो सेवा पूर्णतः निशुल्क रहने बोर्डले जनाएको छ । आवश्यकता बमोजिम स्वास्थ्य सेवा लिन अनुरोध गर्दै सेवा प्रवाहमा साझेदारी गर्ने वीर अस्पतालको समग्र टिमलाई बोर्डले धन्यवाद दिएको छ ।