समाचार

नेपाली आकासमा जहाज होल्ड गर्दा बढ्दै जोखिम, आकासमै नजिक–नजिक भएका दुई घटना सार्वजनिक

File Photo

काठमाडौं । नेपालमा अहिले काठमाडौं विमनस्थल निकै व्यस्तताका साथ उडिरहेको छ । अन्य दुई विमानस्थल सो रफ्तारमा चलेका छैनन् । सोहीकारण काठमाडौंमा उडान र अवतरणका लागि नै पालो कुर्नुपर्ने बाध्यता छ । यसरी पालो कुर्दा आकासमै जोखिम बढेका दुई घटना सार्वजनिक भएका छन् । उडिरहेको नेपाल एयरलाइन्सको विमानमा ठोक्किनसक्ने चेतावनी प्रणाली सक्रिय हुने गरी अस्वाभाविक रूपमा नजिक आएको भनिएको एयर इन्डियाको एउटा जहाजका पाइलटमाथि छानबिन सुरु गरिएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार गत शुक्रवार क्वालालम्पुरबाट काठमाडौं आउँदै गरेको नेपाल एयरलाइन्सको जहाजमा अचानक अर्को जहाज नजिक आएको खतराको सूचना प्रवाह भएको थियो। यस्तै घटना गत १५ फागुनमा समेत भएको थियो । त्यसबेला माथि कतार एयरवेज र तल नेपाल एयरलाइन्स थियो ।

नागरिक उड्डयन प्राधिकरणका अनुसार शुक्रबार नेपाल एयरलाइन्सको जहाजमा जोखिम हुने गरी एयर इन्डियाको जहाज नजिक आएको थियो। नेपाल एयरलाइन्सको विमान १५,००० फिट माथि उडिरहेको बेला १९,००० फिटमा उडिरहेको एयर इन्डियाको जहाजले एक्कासि उचाइ कम गरेर नेपाल एयरलाइन्सको निकट आएको थियो । प्राधिकरणले यसबारे छानविन गर्न समिति गठन गरेको छ ।

त्रिभूवन विमानस्थलमा रहेका एटीसीले दुइटा विमान नजिकै देखेपछि तत्कालै एउटालाई उचाइ बढाउन र अर्कोलाई कम गर्न भनेका थिए । हरेक विमानमा ट्राफिक अलर्ट एन्ड कोलिजन अभोइडेन्स सिस्टम (टीसीएएस( जडान हुन्छ । यसले नजिकै रहेको विमानसँग ठोक्किन सक्ने खतरा भएमा विमानलाई सूचना दिन्छ।