फिचर

नेपालमा अक्सर बसोबास गर्ने विदेशीको संख्या कति ?

काठमाडौं । नेपालमा अक्सर बसोबास गर्ने व्यक्तिमध्ये १ लाख ३७ हजार ४०७ जना विदेशी नागरिक रहेको पाइएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको जनगणनाको नतिजा अनुसार नेपालमा अक्सर बसोबास गर्ने कुल नागरिकमध्ये ९९.५३ प्रतिशतले आफूलाई नेपाली नागरिकका रुपमा चिनाएका छन् । बाँकी व्यक्तिले भने आफूलाई विदेशी नागरिकका रुपमा चिनाएका छन् । तथ्यांक अनुसार यसरी विदेशी नागरिकका रुपमा आफूलाई चिनाउनेमा भारतीय नागरिकको संख्या सबैभन्दा धेरै रहेको छ ।

नेपालमा अक्सर बसोबास गर्ने भारतीयको संख्या १ लाख ३२ हजार ७८१ जना रहेको छ । चिनियाँ नागरिकको संख्या १ हजार ८८२ जना रहेको छ । भारतबाहेक सार्क मुलुकका नागरिक ५८० जना अक्सर नेपालमा बस्ने गरी विवरण टिपाएका छन् । भारत, सार्क र चिनियाँबाहेक अन्य मुलुकका नागरिकको संख्या १ हजार ९७५ जना रहेको समेत तथ्यांकमा उल्लेख छ । आफूलाई कुनै पनि मुलुकको भनी नचिनाएका व्यक्तिको संख्या १८९ जना रहेको छ ।

कार्यालयका अनुसार जुन व्यक्तिले आफुलाई जुन देशको नागरिक भनी टिपायो, यो विवरण सोही अनुसार आएको हो । कार्यालयले अक्सर बसोबास गर्ने अवधि कम्तीमा ६ महिनालाई मानेर विवरण संकलन गरेको थियो ।

तथ्यांक अनुसार नगरपालिका क्षेत्रमा १ लाख ९ हजार ९०४ जना भारतीय बसोबास गर्छन् । गाउँपालिकामा भने २२ हजार ८७७ जना रहेका छन् । नगरपालिकका क्षेत्रमा चिनियाँ नागरिकको संख्या १३ सय ३६ जना रहेको छ । गाउँपालिकामा ५४६ जना छन् । भारतबाहेक सार्क मुलुकका अन्य देशका नागरिक नगरपालिकामा ५५० र गाउँपालिकामा ३० जना बसोबास गरेको तथ्यांक छ । तेस्रो मुलुकका नागरिक भने नगरपालिका क्षेत्रमा १८ सय १६ र गाउँपालिकामा १५९ जना बसोबास गर्ने गरेको पाइएको छ ।

भौगौलिक क्षेत्र अनुसार हिमालमा २१ सय १९ जना भारतीय बसोबास गर्छन् । पहाडमा ५४ हजार ८३९ र तराईमा ७५ हजार ८२३ जना भारतीय नागरिक बसोबास गर्ने गरेको पाइएको छ । भारतीय नागरिक सबैभन्दा धेरै बागमती प्रदेशमा ४८ हजार ३६१ जना बसोबास गरेका छन् । सबैभन्दा कम कर्णालीमा ६९१ जना रहेका छन् ।