समाचार

सरकारी निकायमा पुराना वेवसाइट तथा लिंक हटाउन निर्देशन

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले सरकारी निकायका वेबसाइटमा रहेका पुराना वेबपेजका सामग्री र लिंक हटाउन निर्देशन दिएको छ।
कतिपय सरकारी निकायले नयाँ वेबसाइट बनाउने क्रममा पुराना साइटमा रहेका पुराना डाटा नयाँ साइटमा स्थानान्तरण नगरेको कारण सर्भरमा भार तथा साइबर सुरक्षामा अध्याधिक जोखिम रहेकाले ती लिंक, फाइल लगायतका सामग्री हटाउन निर्देशन दिएको हो।

प्रधानमन्त्रीका आइटी विज्ञ प्रकाश रायमाझीकाअनुसार नयाँ वेबपेज बनाउँदा पुराना वेबसाइटका फाइल, डाटाबेस लगायतका सामग्री स्वतः स्थानान्तरण गर्नुपर्नेमा त्यसो नगरिएकोले निर्देशन दिनु परेको हो।

‘यसरी पुरानो वेबसाइटमा जानुहोस् भनेर फाइल र लिंक राख्ने परिपाटीले एकातिर डाटा सर्भरमा भार पर्ने, ब्यान्डविथ खपत भइरहने र अर्कोतर्फ पुराना वेबपेजमार्फत् सुरक्षा जोखिम उच्च हुने सम्भावना रहन्छ। यसले आर्थिक तथा प्राविधिक रूपमा समेत ठूलो अर्थ राख्ने भएकोले निर्देशन दिइएको हो,’ उनले भने। हाल नेपाल सरकारका विभिन्न निकायले निजी क्षेत्रका प्राविधिक सेवा दिने कम्पनीसँग परामर्श सेवा लिएर वेबपेज निर्माण गरेका छन्।

यसरी निर्माण भएका वेबपेजहरू समयमा नै प्राविधिक रूपमा अपडेट नहुने, निकायपिच्छे नै सुरक्षा जोखिम रहने तथा कतिपय प्राविधिक तथा सुरक्षासम्बन्धी मापदण्डहरूको उचित पालना नगरिने अवस्था रहेकोले प्रधानमन्त्री कार्यालयले एउटै वेब टेम्प्लेट प्रयोगका लागि समेत तयारी गरिरहेको उनले बताए।

‘सबै निकायले आफ्नो अनुकूलतामा प्रयोग गर्न सकिने किसिमले स्ट्यान्डर्ड वेब टेम्प्लेटको निर्माणको काम अघि बढेको छ। यो टेम्प्लेट निर्माण सम्पन्न भएपछि सबै निकायलाई यही टेम्प्लेटमा आधारित भएर वेबपेज निर्माणका लागि निर्देशन दिइने छ,’ उनले भने।