विश्व

जर्मनीमा राष्ट्रब्यापी हड्ताल, सबै यातायात सेवा अवरुद्ध

Reuters\Ekantipur

काठमाडौं । सोमबार दुई ठूला यातायात युनियनहरूले राष्ट्रव्यापी हड्तालको आह्वान गरेपछि जर्मनीमा अधिकांश रेल, बस र विमान सेवा रद्द गरिएको छ । फोहोरमैला व्यवस्थापन कर्मचारीहरू गत दुई सातादेखि हड्तालमा उत्रिएकाले मुन्स्टर, हेमबर्ग, बर्लिनलगायतका सहरमा फोहोरको डंगुर थुप्रिएको छ ।

‘सहरभरि फोहोर थुप्रिएको छ । मानिसहरू बसपार्क, रेल स्टेसनमा घुइँचो लागेर बसेका छन्, बिजोग छ,’ जर्मनीको मुन्स्टरका नेपाली रेस्टुरेन्ट व्यवसायी सूर्य तिवारीले भने । मध्यरातमा राष्ट्रव्यापी २४ घण्टाको हड्ताल सुरु भएपछि सोमबार जर्मनीमा लगभग सबै विमान, रेल र बसहरू ठप्प भएका छन् । बीईआर बर्लिन ब्रान्डनबर्ग एयरपोर्टबाहेक सबै प्रमुख जर्मन अन्तर्राष्ट्रिय विमानस्थल हड्तालबाट प्रभावित भएका छन् । राष्ट्रव्यापी रूपमा, करिब चार लाख यात्रुहरूले ढिलाइ वा उडान रद्दको सामना गर्नुपरेको छ ।

जर्मनीको सबैभन्दा ठूलो विमानस्थल फ्र्यांकफर्टमा सबै आगमन र प्रस्थान गर्ने उडानहरू सोमबार भर रद्द गरिएको छ । केही लामो दूरीको उडानहरूको मामलामा पूरा दिन ढिलाइ भएको फ्र्यांकफर्ट विमानस्थलले उल्लेख गरेको छ । हडतालका कारण धेरै प्रमुख बन्दरगाह र नाकाहरूमा व्यावसायिक र सामान ढुवानीको कामसमेत रोकिएको जर्मनीको डीडब्ल्यू न्युजले उल्लेख गरेको छ । हड्तालको तयारीले गर्दा शुक्रबारदेखि नै अवरोधहरू निम्त्याएको थियो ।

दुई ठूला मजदुर युनियनहरुले देशलाई नै ठप्प पार्ने गरी आह्वान गरेको यो हड्ताल जर्मनीले गत तीन दशकमा बेहोरेको सबैभन्दा ठूलो हड्ताल हो । धेरै रेल मजदुरहरूको प्रतिनिधित्व गर्ने भर्डी सेवा श्रमिक युनियन र ईभीजी युनियनले यो हड्तालको आह्वान गरेका हुन् ।

जर्मनीमा पछिल्ला हप्तामा श्रमिक युनियनहरुले सरकारसित सेवा सुविधा र तलब बढाउन माग गरेका थिए । मुद्रास्फीति बढेको र बजारभाउ पनि बढेकाले त्यसअनुरूपको सेवा, सुविधा र श्रमको मूल्य पाउनुपर्ने माग मजदुर युनियनहरूको छ । तर युनियनहरुले राखेको मागमा सुनुवाइ नभएकाले हड्ताल गर्नुपरेको भनाइ मजदुर युनियनहरूको छ ।

उनीहरुले रोजगारदाताहरूसँग पटक पटक वार्ता गरे पनि असफल वार्ताको शृंखलापछि सामूहिक हड्ताल गर्न बाध्य भएको जनाएका छन् । ‘हाम्रो सुनुवाइ भएन । त्यसैले हडताल गर्नुपर्ने भयो । हडतालमा व्यापक सहभागिता छ, भर्डी प्रमुख फ्रान्क वेर्नेकेले पत्रकार सम्मेलनमा भनेका छन् ।

हड्ताल आधिकारिक रूपमा सोमबार मध्यरातमा सुरु भएको हो र सोमबार साँझसम्म चल्ने छ। तर कतिपय विमानस्थलले आइतबार आइपुग्ने वा प्रस्थान गर्ने निर्धारित उडान रद्द गरेका छन् । जर्मनीको हडतालका कारण युरोपभरिका पेरिस, आम्स्टरडम, लियों, जेनेभा, जुरिक, बार्सिलोना, स्टकहोम, रोम, मेड्रिड, हेलसिन्की लगायत ३० भन्दा बढी सहरका उडान रद्द भएको जनाइएको छ ।

जर्मनीका दुई ठूला एयरपोर्टहरू म्युनिख र फ्रान्कफर्टका साथै ब्रेमेन, ह्याम्बर्ग र स्टटगार्ट एयरपोर्टहरूमा उडानहरू स्थगित गरिएको छ। रेल अपरेटर डोइच बाहनले आफ्नो लामो दूरीको रेल सेवाहरू रद्द गरेको छ । जर्मन रेल अपरेटर डूइच बाहनले सोमबार कुनै लामो दूरीका रेलहरू नचल्ने, धेरै रेलहरू मंगलबार पनि रद्द गरिएको अग्रिम जानकारि गराएको थियो । सोमबारको यात्रामा रहेका यात्रुहरुलाई उनीहरुले सम्भव भए अर्को दिनको यात्रा स्थगित गर्न आग्रह गरेको थियो ।

डोइच बाहनले एक विज्ञप्तिमा भनेको छ ‘सोमबारको हडतालले सबै जर्मन रेल सञ्चालनहरूलाई असर गर्नेछ, किनकि डोइच बाहन र अन्य रेल कम्पनीहरूका सबै क्षेत्रका कर्मचारीहरूलाई हडतालमा निस्कन आह्वान गरिएको छ । त्यसैले डोइच बाहनको लामो दूरीको यातायात पूर्ण रूपमा बन्द गरिएको छ।’

सोमबारको हड्ताल राष्ट्रव्यापी छ । हड्ताल आह्वान गर्ने युनियनहरूले यातायात मजदुरमा बहुमतको प्रतिनिधित्व गर्दछन् । भर्डीले २५ लाखभन्दा बढी सार्वजनिक क्षेत्रका कर्मचारीहरूको प्रतिनिधित्व गर्दछ भने ईभीजीले रेलवे र बस कम्पनीका करिब २ लाख ३० हजार कामदारहरूको प्रतिनिधित्व गर्दछ।
कान्तिपुरबाट साभार