विज्ञान प्रविधि

सिनेमा साइबर सेक्यूरिटी डेस्क सञ्चालन गर्दै बोर्ड

काठमाडौं । चलचित्र विकास बोर्डले हटलाइन नम्बरसहितको ‘सिनेमा साइबर सेक्युरिटी’को डेडिकेटेड डेस्क सञ्चालन गर्ने भएको छ । मंगलबार प्रविधि विकासको काम सुरू भएको र साइबर सुरक्षासँगै डिजिटल प्रविधिमा लैजाने योजना ‘डेमोस्ट्रेसन’ गरिएको बोर्ड अध्यक्ष भुवन केसीले जानकारी दिए ।

“टिकटक, युट्युब र फेसबुकजस्ता सामाजिक सञ्जालका माध्यमबाट निर्मातालाई आफ्नो काम प्रदर्शन गर्न र फराकिलो दर्शकसम्म पुग्न सजिलो भएको छ । यद्यपि, यसले नै साइबर सुरक्षाको विषयमा नयाँ चुनौती पनि सिर्जना गरेको छ । यसको असर चलचित्र अनलाइन लिक वा पाइरेटेड भएका छन्”, अध्यक्ष केसीले भने, “यी चुनौतीलाई सम्बोधन गर्न बोर्डले डेस्क स्थापना गर्न नीति लिँदै सक्रिय कदम चाल्ने निर्णय गरेको हो । चलचित्रकर्मीले भोगिरहेका साइबर खतरा न्यूनीकरण गर्न नेपाल सरकार, नेपाल प्रहरी, चलचित्र निर्माता, सामाजिक सञ्जाल प्लेटफर्म र अन्य सरोकारवालासँग मिलेर काम गर्दैछौँ ।”

कार्यक्रममा रोबोटिक्स एकेडेमी अफ नेपालका फाउण्डर विक्रान्त कार्की र आइडिया ब्रिड आईटी सोलुसनका निवेशकिरण अधिकारीले संयुक्तरुपमा सिनेमा साइबर सेक्युरिटी डेस्कबारे डेमोस्ट्रेसन देखाएका थिए । नेपाली चलचित्र उद्योगले सामना गरिरहेको साइबर हमलाबाट छुटकारा पाउने उपाए र बोर्डले चाल्न लागेको कदमबारे छलफल गर्न कार्यक्रमको आयोजना गरिएको थियो ।