स्वास्थ्य

श्रमिकलाई लक्षित गरी आजबाट टेलिमेडिसिन सेवा सुरु

काठमाडौं । सरकारले बुधवारबाट निःशुुल्क टेलिमेडिसिन सेवा सुरुवात गर्ने भएको छ । वैदेशिक रोजगार बोर्डले वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकको स्वास्थ्य समस्या सल्ट्याउने उद्देश्यले निःशुल्क टेलिमेडिसिन सेवा सुरु गर्न लागेको हो । वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकलाई लक्षित गरी टेलिमेडिसिन सेवा सञ्चालन गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले टेलिमेडिसिन सेवा सञ्चालन कार्यविधि, २०७९ स्वीकृत गरेसँगै सेवा सुरु गर्न लागिएको हो । बोर्डका अनुसार यसबाट वैदेशिक रोजगारीमा रहेका सबैले सेवा लिन सक्नेछन् ।

विदेशमा श्रमिकले भोग्दै आएका स्वास्थ्य समस्या समाधान गर्न सहयोग पु¥याउनका लागि पहिलो पटक यस्तो सेवा सुरु गर्न लागिएको बोर्डले जनाएको छ । बोर्डका अनुसार यसमार्फत श्रमिकको आवश्यकताअनुसार स्वास्थ्यसम्बन्धी सल्लाह, सुझाव र परामर्श उपलब्ध गराइनेछ ।

बोर्डका प्रवक्ता राजन पौडेलले सार्वजनिक बिदाका दिनबाहेक नेपाली कार्यालय समयमा सेवा प्रवाह हुने जानकारी दिए । विदेशमा रहेका नेपाली श्रमिकले टेलिमेडिसिन सेवा लिनुपरेमा ९८५१३४५७०१ र ९८५१३४५७०२ नम्बरमा भाइबर, ह्वाट्स एप वा इमोलगायतका माध्यममार्फत सम्पर्क गरेर सेवा लिन सकिने व्यवस्था रहेको बोर्डले जनाएको छ ।

वैदेशिक रोजगारीमा रहेका श्रमिकका समस्यालाई टेलिमेडिसिनका मेडिकल अधिकृतले सुनेर बिरामी श्रमिकलाई विशेषज्ञ सेवा आवश्यक परेमा हरेक आइतबार र शुक्रबार उपलब्ध गराउने व्यवस्था गरिएको छ । आइतबार र शुक्रबार विदेशी मुलुकमा सार्वजनिक बिदा पर्ने हुँदा ती दिनमा श्रमिकसँग समय हुने भएकाले सेवा उपलब्ध गराउन लागिएको हो ।

बोर्डका अनुसार सेवा लिने श्रमिकका लागि चिकित्सकको ‘प्रेस्क्रिप्सन’ अनलाइनमार्फत उपलब्ध गराउने र यसको सम्पूर्ण खर्च बोर्डले बेहोर्नेछ । सामान्य स्वास्थ्य समस्याबारेमा उपचार गराउने व्यवस्था नहुँदा वैदेशिक रोजगारमा गएका कैयौँ श्रमिकको मृत्यु हुने गरेको छ ।