समाचार

भारतले तीव्र रुपमा खोजिरहेको खालिस्तानी नेता नेपालमा लुकेको भारतको आशंका

GETTY IMAGES\BBC

काठमाडौं । भारतमा निकै विवादित बनेका एक सिख युवा नेता अमृतपाल सिंह ‘फरार’ भएको ठहर गर्दै अधिकारीहरूले उनी भागेर नेपाल पुगेको आशङ्का गरेका छन्। उनलाई नेपाल छोडेर अन्यत्र जान नदिन भारतले नेपाली पक्षलाई पत्राचार गरेको बीबीसीले लेखेको छ ।

नेपालको अध्यागमन विभागका एक अधिकारीका अनुसार काठमाडौंस्थित भारतीय दूतावासले कूटनीतिक संयन्त्रमार्फत् सिंह नेपालमा लुकेको हुनसक्ने भन्दै खोजी गरिदिन आग्रह गरेको हो । २९ वर्षीय सिंह सिख स्वायत्त राज्य (खालिस्तान) स्थापना गर्ने उद्देश्य राख्ने ‘वारिस पञ्जाब दे’ सङ्गठनका प्रमुख हुन्। पृथक्तावादी अभियानलाई चर्काउन खोजेको आशङ्कामा भारतले उनलाई निगरानीमा राख्दै आएको थियो।


पञ्जाबमा प्रहरीले जालन्धरको शाहकोट क्षेत्रमा छापा मार्दै खोजी गर्दा समेत उनी पक्राउ पर्न नसकेपछि सिंहको अहिले व्यापक खोजी भइरहेको छ। पञ्जाबमा उनका धेरै समर्थकहरू पक्राउ परेका छन्। भारतमा अमृतपाल सिंहका बुवा तरसेम सिंहले छोराको ज्यान खतरामा रहेको बताएका छन्।

पञ्जाब प्रहरीका एक प्रवक्ताका अनुसार वारिस पञ्जाब देका कार्यकर्ताहरूविरुद्ध चारवटा मुद्दा लगाइएको छ। उनीहरूविरुद्ध समाजमा अस्थिरता सिर्जना गरेको, योजना बनाएर हत्या गरेको, प्रहरीमाथि आक्रमण गरेको र सरकारी कर्मचारीको काममा बाधा पुर्‍याएको जस्ता अभियोग लगाइएको छ।


सिंहको मूल थातथलो पञ्जाबको अमृतसर जिल्लामा छ। तर सन् २०१२ मा दुबई गएर उनी आफ्नो पारिवारले चलाएको यातायात व्यवसायमा संलग्न भएका थिए। उनको लिङ्कड्इन प्रोफाइलमा सिंहले पञ्जाब विश्वविद्यालयबाट मेकानिकल इन्जिनियरिङको डिग्री लिएको उल्लेख छ।

उनको लोकप्रियता लामो समयसम्म सामाजिक सञ्जालमा सीमित थियो। त्यहाँ व्यक्त उनका विचारमा सिख एकता र छुट्टै राज्यको भाव अभिव्यक्त हुन्थ्यो। गत वर्ष अगस्टमा उनी पञ्जाब फर्किए।अमृत सञ्चार र नसामुक्त आन्दोलनमार्फत् उनले युवाहरूलाई आफूतिर आकर्षित गरे।

दुबईबाट भारत फर्कँदा उनी आफ्ना पुराना तस्बिरमा भन्दा स्पष्टसँग फरक शैलीमा देखिए। पहिला उनको कपाल र दाह्री चिटिक्क पारेर काटेको देखिन्थ्यो।
नयाँ तस्बिरमा उनी सिख धार्मिक अभियानमा संलग्न कट्टर व्यक्तिजस्तै देखिए। त्यसको एक महिनापछि उनी वारिस पञ्जाब देका प्रमुख नियुक्त भए। उक्त सङ्गठन अभिनेता तथा अभियानकर्मी दीप सिधूले स्थापना गरेका हुन्। उनी किसानहरूको प्रदर्शनका क्रममा पक्राउ परेका थिए। गत वर्ष एउटा कार दुर्घटनामा परेर सिधूको मृत्यु भएको थियो।

अमृतपाल सिंह पछिल्लो समय विवादित भाषणका कारण चर्चामा छन्। सिंहको भाषणमा जरनेल सिंह भिन्डरावाले र उनका कट्टरपन्थी विचारहरूको प्रतिबिम्ब झल्किन्छ। सन् १९८० को दशकमा भिन्डरावालेलाई भारत सरकारले अलग्गै सिख राज्यका लागि सशस्त्र विद्रोहको नेतृत्व गरेको आरोप लगाएको थियो।

उनी सन् १९८४ मा भारतीय सेनाको विवादास्पद अपरेशन ब्लू स्टारमा मारिएका थिए। अमृतपाल सिंहले सिखहरूका लागि छुट्टै राज्यको लागि आह्वान गर्दै त्यो पानीको विवाद, लागुऔषधको दुर्व्यसनदेखि पञ्जाबी संस्कृतिमा देखा परेको क्षयजस्ता पञ्जाबमा विद्यमान समस्याहरूको एक मात्र स्थायी समाधान भएको दाबी गर्दै आएका छन्।