समाचार

राम नवमीको अवसर पारी आज मधेश प्रदेशमा सार्वजनिक बिदा

काठमाडौं । जनकपुरधाममा आज रामनवमी मनाइँदै छ । चैत्र शुक्ल नवमी अर्थात् रामनवमीको अवसरमा आज बिहानैदेखि राममन्दिर, जानकी मन्दिरमा बिहानैदेखि पूजाअजा गर्ने श्रद्धालुभक्तजनको घुइँचो लागेको छ । नवमीमा सहभागी हुन नेपाल तथा छिमेक देश भारतबाट हजारौंको संख्यामा श्रद्धालुहरू जनकपुरधाम आएका छन् । त्रेता युगमा आजकै दिन अयोध्यामा मर्यादा पुरुष भगवान रामको जन्म भएको पौराणिक ग्रन्थहरुमा उल्लेख छ ।

आजको दिन देशभरी रामको स्मृतिमा पवित्र नदी, ताल तथा कुण्डमहरुमा स्नान ध्यान गरी व्रत बसी रामगीता पाठ, अध्यात्म वाल्मीकि र तुलसीकृत(रामायण वाचन गर्नुका साथै भगवान रामको पूजाआराधना गरी रातभरी भजनकीर्तन र जाग्राम बस्ने परम्परा रहिआएको छ । अयोध्याका राजा दशरथको ज्येष्ठ पुत्र भई भगवान विष्णुको सातौँ अवतारको रुपमा जन्मेको बताइन्छ । राम मिथिलाका राजा जनकका पुत्री सीतासित विवाह गरी संसारबाट पापी तथा दुष्ट राक्षसहरुको नाश गरेका थिए ।

आफ्नो पिताको कठोर आज्ञाको सहजतापूर्वक पालन गरी मानव जातिलाई सत्यको मार्गमा हिँड्न प्रेरणा दिएकाले रामको सम्झनमा रामनवमी पर्व मनाइँदै आएको धार्मिक ग्रन्थहरुमा उल्लेख गरिएको छ । यो पर्व चैती नवरात्रीको बीचमै परेकाले आजको दिन भगवान रामको साथै आदि शक्ति नव दुर्गा देवीको समेत पूजा गरिन्छ । रामनवमीको अवसरमा मधेश प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ ।