समाचार

थ्री नेसन्स कपको उपाधी नेपाललाई

काठमाडौं । खेल सकिन ३ मिनेट बाँकी छँदा मनिष डाँगीले गरेको निर्णायक गोलको मद्दतमा नेपालले प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगिताको उपाधि जितेको छ । घरेलु मैदानमा उपाधि उचाल्ने क्रममा नेपालले लाओसलाई २–१ ले हरायो । खेल १–१ गोलको स्थितिमा रहेको बेला ८७ औं मिनेटमा डाँगीले सुन्दर गोल गरे ।

यसअघि १७ ‌औं मिनेटमा फौथाभोङ साङभिलेले गोल गर्दै लाओसलाई अग्रता दिलाए पनि त्यसको ७ मिनेटमै नेपालले बराबरी गोल फर्काएको छ । बोनपाचन बोनकोङकोको पासमा नेपाली डिफेन्डरहरु बिट भइसकेको अवस्थामा फौथाभोङले हाफ भली प्रहारमा गोल गरेका हुन् ।

तर २४ औं मिनेटमा नेपालले बराबरी गोल फर्काएको छ । एरिक विष्टले मिलाइदिएको पासमा बक्स भित्रबाट आयुश घलानको गोल गरेका थिए । खेलको ७४ औं मिनेटमा नवीन लामाको प्रहारलाई गोलरक्षकले पञ्च गर्दा फर्केको बललाई मनिषले जाली चुमाए पनि त्यो गोल अफ साइड भयो ।

भुटानसहित तीन देश सम्मिलित प्रतियोगितामा नेपाल पहिलो र लाओस दोस्रो हुँदै फाइनल पुगेका थिए । नेपालले उपाधिसहित ५ हजार अमेरिकी डलर पुरस्कार पाएको छ भने उपविजेताले ३ हजार अमेरिकी डलर पुरस्कार पाएको छ । आयुष घलानले प्लेयर अफ त टुर्नामेन्ट हुँदै ५०० डलर पुरस्कार पाएका छन् ।

फाइनलमा एक गोल गरेका आयुश भुटानविरुद्दको खेलमा प्लेयर अफ दि म्याच बनेका थिए। नेपाललाई उपाधि दिलाउन निर्णायक गोल गरेका मनिष प्लेयर अफ द फाइनल भए र उनले २५० अमेरिकी डलर पुरस्कार पाए ।