समाचार

रास्वपाबाट उप-निर्वाचन लड्ने उम्मेदवार निश्चित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले १० वैशाखमा उपचुनाव हुने ३ वटा निर्वाचन क्षेत्रमा उम्मेदवार टुंग्याएको छ । पार्टी कार्यालय महाराजगञ्जमा कार्यक्रम गरी रास्वपाले चितवन २ मा अध्यक्ष रवि लामिछाने, तनहुँ १ मा स्वर्णिम वाग्ले र बारा २ मा रमेश खरेललाई उम्मेदवार बनाउने घोषणा गरेको हो । गत मंसिरको चुनावमा चितवन २ मा रवि लामिछाने नै निर्वाचित भएका थिए ।

तर नागरिकता सम्बन्धी विवादमा सर्वोच्च अदालतले उनको पद खारेज गरे पछि त्यहाँ उपचुनाव हुन लागेको हो । नेपाली कांग्रेसबाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति भएपछि खाली रहेको तनहुँ १ मा रास्वपाले कांग्रेस छाडेका वाग्लेलाई उम्मेदवार बनाउन लागेको हो ।

बारा २ मा उठ्न लागेका रमेश खरेल भने गत मंसिरको चुनावमा हाम्रो सुशासन पार्टीबाट काठमाडौं १ मा उठेका थिए । काठमाडौं १ मा पाँचौ भएका खरेल अहिले पार्टी परिवर्तन गरेर बारा २ मा रास्वपाबाट उपचुनाव लड्न लागेका हुन् । रामसहायप्रसाद यादव उपराष्ट्रपति भएपछि बारा २ मा उपचुनाव हुन लागेको हो ।