विश्व

धर्म गुरुको उक्साहटमा केन्यामा थुप्रैले ज्यान गुमाएको पुष्टी

REUTERS\bbc

काठमाडौं । एकजना धर्म प्रचारकले आफ्ना अनुयायीहरूलाई मृत्युका बेलासम्म भोकै बस्न दिएको निर्देशन मानेर मानिसहरूको ज्यान गएको विषयमा अनुसन्धान गरिरहेको केन्याको प्रहरीले समुद्री तटीय सहर मलिन्डी नजिकैबाट २१ वटा शवहरू उत्खनन गरेर निकालेको छ।

गाडिएको स्थानबाट निकालिएका शवहरूमा बालबालिकाका पनि छन् र प्रहरीले त्यहाँ अन्य थप शव पनि हुनसक्ने जनाएको छ । शाकाहोला जङ्गल क्षेत्रमा रहेका चिहानबाट ती शवहरू निकालिएको बीबीसीले जनाएको छ । उक्त क्षेत्रबाटै गत साता गुड न्यूज इन्टरन्याशनल चर्चका १५ जना सदस्यलाई उद्धार गरिएको थियो।
उक्त धार्मिक अभियानका एकजना प्रचारक पल म्याकेन्जी थेङलाई प्रहरीले हिरासतमा लिएको छ। उनलाई अदालतमा उपस्थित भने गराइसकिएको छैन।


केन्याको सरकारी प्रसारक केबीसीले उनलाई एउटा ‘सम्प्रदायका नेता’ भनेको छ। केबीसीका अनुसार हालसम्म त्यहाँ ५८ वटा चिहानहरू पहिचान गरिएको छ। म्याकेन्जीले आफूले गलत कार्य नगरेको दाबी गरेका छन् तर उनलाई अदालतले जमानतमा छाड्न अस्वीकार गरेको छ।

उनले आफ्नो चर्च सन् २०१९ मा नै बन्द गरिसकेको बताएका छन्। उनीमाथि आफ्ना अनुयायीहरूलाई उनले “जिससलाई भेट्नका लागि” भोकै बस्न उत्प्रेरित गरेको आरोप लागेको छ। केन्याली दैनिक पत्रिका द स्ट्यान्डर्डले लेखेअनुसार प्याथोलोजिस्टहरूले चिहानबाट निकालिएका शवहरूको डीएनएका नमुनाहरू लिने र उनीहरू भोकका कारण मरेका हुन् वा होइनन् भनेर जाँच गर्नेछन्। प्रहरीले म्याकेन्जीलाई गत १५ अप्रिलमा पक्राउ गरेको थियो।

प्रहरीका अनुसार चारजना मानिसहरूले आफूलाई भोकै राखेर आफ्नो ज्यान लिएको आशङ्का गरिएपछि त्यसमा संलग्न भएको आरोपमा म्याकेन्जीलाई हिरासतमा लिइएको थियो। मलिन्डी सोसिअल जस्टिस सेन्टरका भिक्टर कडोले सिटिजन टीभीसँग भने, हामी त्यो जङ्गलमा पुगेका बेला त्यहाँ एउटा ठूलो र अग्लो क्रस भएको क्षेत्रमा पुग्यौँ। त्यसबाट हामीलाई त्यहाँ पाँच जनाभन्दा बढी मानिसहरू गाडिएका छन् भन्ने थाहा भयो।

द स्ट्यान्डर्डले जनाए अनुसार ती प्रचारकले तीनवटा गाउँहरूलाई नाजरथ, बेथ्लेहाम र जुडिया नाम दिएका थिए। त्यसपछि उनले अनुयायीहरूलाई उपवास बस्न निर्देशन दिनुअघि एउटा सानो पोखरीमा ब्याप्टाइज गरेका थिए। केन्या एउटा धार्मिक प्रकृतिको देश हो र त्यहाँ विगतमा पनि मानिसहरूलाई खतरनाक र अनियमित गिर्जाघर वा धार्मिक पन्थहरूले प्रलोभनमा परेका कैयौँ घटनाहरू रहेका छन्।