समाचार

उपनिर्वाचनको नतिजापछि कांग्रेस महामन्त्रीको प्रतिक्रिया : रुपान्तरणको सन्देश

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले उपनिर्वाचनको परिणामले दलहरुलाई रुपान्तरित हुन सन्देश दिएको बताएका छन् । यो सन्देश अनुरुप आफूलाई बदलेर नयाँ ढंगले जुट्ने उनले बताएका छन् । महामन्त्री शर्माले ट्वीटरमा लेखेका छन्, ‘परिणामले हामीलाई रुपान्तरित हुन सन्देश दिएको छ । देशको समय बदल्न नेतृत्व गरेको दलले बदलिएको समय अनुरुप आफूलाई बदल्नुछ ।’ मतदाताको प्रत्येक मतलाई सम्मान गर्ने बताउँदै उनले लेखेका छन्, ‘नवीन अभियानमा, नयाँ ढंगले जुट्नेछौं हामी ।’

प्रतिनिधि सभा उपनिर्वाचन भएका तीन वटा क्षेत्रमध्ये चितवन २ र तनहुँ १ रास्वपाले तथा बारा २ जसपाले जितेका छन् । कांग्रेसले उपनिर्वाचनका लागि चितवनमा महामन्त्री विश्वप्रकाश शर्मालाई र तनहुँमा अर्का महामन्त्री गगन थापालाई खटाएको थियो । चितवन र तनहुँमा कांग्रेस उम्मेदवारले लज्जास्पद हार व्यहोरे । बारामा भने कांग्रेसले जसपाका उपेन्द्र यादवलाई समर्थन गरेको थियो ।