समाचार

गोसाइकुण्डमा विशेष मेला सुरु

काठमाडौं । रसुवाको गोसाइँकुण्डमा आजदेखि विशेष मेला सुरू भएको छ । गङ्गा दशहरा अन्तर्गत १० दिने विशेष मेला भर्न आएका भक्तजनले आज बिहानैदेखि कुण्डमा स्नान तथा आराधना गर्न थालेका छन् ।

आज पहिलो दिन झण्डै पाँच सय भक्तजनले गोसाइँकुण्डमा स्नान गर्ने र भक्तजन आउने क्रम निरन्तर रहेको लाङटाङ राष्ट्रिय निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत मिलन सापकोटाले जानकारी दिए । दशहरा पर्वमा १० दिन एवं जनैपूर्णिमा पर्वका अवसरमा पाँच दिन गरी हरेक वर्ष १५ दिन निलाद्री पर्वतमा विशेष मेला लाग्ने गर्छ ।

यस वर्षको गङ्गा दशहरा पर्वमा पाँच हजार भक्तजन गोसाइँकुण्ड पुग्ने अनुमान छ । त्यसै अनुसार सुरक्षा प्रबन्ध मिलाएको र उद्धार गर्नुपर्ने अवस्थामा निःशुल्क फोन नम्बर एक सयमा खबर गर्न जिल्ला प्रहरी कार्यालय रसुवाका प्रमुख सुवास बुढाथोकीको अनुरोध छ ।