फिचर

एमसीसी परियोजनाका लागि ६ कम्पनीले दिए बोलपत्र

काठमाडौं । मिलेनियम च्यालेन्ज एकाउन्ट (एमसीए) नेपालले एमसीसी परियोजना अन्तर्गतको प्रसारणलाइन निर्माणका लागि ६ वटा कम्पनीहरुले बोलपत्र पेश गरेका छन् । नेपालमा रातमाटे–लप्सीफेदी( हेटौंडा–नयाँ दमौली–नयाँ बुटवल खण्डमा प्रसारणलाइन निर्माणका लागि एमसीए नेपालले सोमबार बोलपत्र आह्वान गरेको थियो ।

जसमा मेघा इन्जिनियरिङ एन्ड इन्फ्रास्ट्रक्चर लिमिटेड र पावर मेक प्रोजेक्ट्स लिमिटेडले संयुक्त रूपमा बोलपत्र पेश गरेका छन् । यस्तै कल्पतरू पावर ट्रान्समिसन लिमिटेड, केईसी इन्टरनेशनल लिमिटेड, ट्रान्सरेल लाइटिङ लिमिटेड, टाटा प्रोजेक्ट्स लिमिटेड र लार्सन एण्ड टर्बो लिमिटेडबाट पनि बोलपत्रहरु प्राप्त भएको एमसीए नेपालले जनाएको छ । बोलपत्र बारेको निर्णय भने वेबसाइटमा प्रकाशित गरिने जनाइएको छ ।

प्रसारणलाइन निर्माणका लागि बोलपत्र लिइसक्दा पनि परियोजनाको पूर्वतयारीको काममा चरम ढिलाइ भइरहेको छ । पूर्वतयारीलाई गति नदिई ढिलाइकै बीच आयोजना कार्यान्वयन गर्ने एमसीए नेपालको तयारी छ ।

प्रसारणलाइन बन्ने १० वटा जिल्लाका ३० वटा गाउँपालिका तथा नगरपालिका (९२ वटा वडाहरु) भएर जाने प्रस्तावित प्रसारणलाइन बन्ने क्षेत्रको तार र टावर रहने जग्गा अधिग्रहण गर्नुपर्ने हुन्छ । एमसीए नेपालका अनुसार अहिले जग्गा अधिग्रहणका लागि १० मध्ये ९ वटा जिल्लामा मात्रै प्रारम्भिक सूचनाहरु प्रकाशन भएका छन् ।