फिचर

विदेशमा रहेका नेपालीले अब आईएमईबाट सामाजिक सुरक्षा कोषमा रकम जम्मा गर्न सक्ने

काठमाडौं । विदेशमा रहेका नेपालीले आईएमईबाट सामाजिक सुरक्षा कोषमा रकम जम्मा गर्न सक्ने भएका छन् । सामाजिक सुरक्षा कोष र आईएमईबीच वैदेशिक रोजगारमा रहेका श्रमिक र विदेशमा स्वरोजगारमा रहेका व्यक्तिहरूलाई सुरक्षा कोषमा रकम सङ्कलनको सेवा प्रदान गर्ने गरी सम्झौता भएको हो ।

सम्झौतापत्रमा सामाजिक सुरक्षा कोषका तर्फबाट कार्यकारी निर्देशक कपिलमणि ज्ञवाली र आईएमईका तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सीईओ) खिलेन्द्र पौडेलले हस्ताक्षर गरेका छन् । सम्झौताको कार्यान्वयनपछि विदेशमा रहेका आईएमई काउन्टर तथा साझेदारहरूमार्फत् वैदेशिक रोजगारमा रहेका श्रमिक र विदेशमा स्वरोजगारमा रहेका व्यक्तिले योगदानबापतको रकम कोषमा जम्मा गर्न सक्नेछन्।

आईएमईका प्रमुख कार्यकारी अधिकृत पौडेलले विदेशमा रहेका लाखौँ नेपालीलाई कोषमा योगदान गर्ने रकम जम्मा गर्न सहज हुने गरी यो सम्झौताअनुसारको छिट्टै व्यवस्था मिलाइने जानकारी दिए । कोषले अघि बढाएको वैदेशिक रोजगारमा रहेका श्रमिक र विदेशमा स्वरोजगारमा रहेका व्यक्तिहरूको सामाजिक सुरक्षा योजनाको प्रवर्द्धनका लागि समेत सहयोग पुग्ने उनको भनाइ छ।

सामाजिक सुरक्षा कोषका तर्फबाट कार्यकारी निर्देशक ज्ञवालीले आईएमई तथा यसका साझेदारहरूको विश्वव्यापी सञ्जाल भएकाले कोषले अघि बढाएको योजनामा सहभागिता बढाउन तथा कोषमा योगदान गर्नेहरूलाई रकम पठाउन सहज हुने विश्वास व्यक्त गरे ।

यसअघि सामाजिक सुरक्षा कोषले वैदेशिक रोजगारमा रहेका श्रमिक र विदेशमा स्वरोजगारमा रहेका नागरिकले सामजिक सुरक्षा योजनाअन्तर्गत कम्तीमा नेपाल सरकारबाट तोकिएको न्यूनतम आधारभूत पारिश्रमिकको २१ दशमलव ३३ प्रतिशत रकम अर्थात् अहिले न्यूनतम दुई हजार दुई रुपैयाँ मासिक रूपमा र अधिकतम न्यूनतम आधारभूत पारिश्रमिकको तीन गुणासम्म कोषमा योगदान गरी सुविधामा सहभागी हुनसक्ने व्यवस्था मिलाएको थियो।