फिचर

काभा वुमन्स भलिबलमा आज नेपाल र भारत भिड्दै

काठमाडौं । एनएससी-काभा वुमन्स भलिबल च्यालेन्ज कप २०२३ मा नेपालले समूहको तेस्रो खेलमा आज बलियो प्रतिस्पर्धी भारतको सामना गर्दैछ । समूह ए बाट यसअघि सेमिफाइनल पुगिसकेको यी दुई टोलीबीच समूह विजेता बन्न प्रतिस्पर्धा हुँदैछ । समूह चरणमा नेपाल र भारत दुवैले कीर्गिस्तान र बंगलादेशलाई सोझो सेटमा हराएर अन्तिम चारमा स्थान बनाइसकेको छ ।

नेपालले महिला भलिबलमा अहिलेसम्म भारतलाई हराएको छैन । सन् २०१९ मा काठमाडौंमै भएको १३औं सागको फाइनलमा नेपाल भारत विरुद्ध जित नजिक पुगेर पनि चुकेको थियो । नेपालले भारतलाई दुई सेटमा हराए पनि निर्णायक सेटमा चुक्दा भारतसँग ३–२ को सेटमा पराजित भएको थियो । यस पटक घरेलु कोर्टमा नेपाल सामु भारतविरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै बदला लिने अवसर समेत छ ।

नेपालले पछिल्लो पटक सन् २०२१ मा बंगलादेशमा भएको एसियन वुमन्स सेन्ट्रल जोन च्यालेन्ज कप खेलेको थियो । जहाँ नेपालले श्रीलंका र उज्वेकिस्तान जस्तो टिमसँग खेलेको थियो र उज्वेकिस्तानलाई फाइनलमा पराजित गर्दै उपाधि रक्षा गरेको थियो ।