समाचार

भारतीय कफ सिरप निर्यातमा रोक

काठमाडौं । भारतले सरकारी प्रयोगशालामा नमुना परीक्षण गरेपछि मात्र खोकीको औषधि (कफ सिरप) अन्य देशमा निर्यात गर्न अनुमति दिने भएको छ। सोहीकारण तत्कालका लागि भारतीय कफ सिरपको निर्यात बन्द भएको छ ।

गत वर्ष द गाम्बियामा ७० जना र उज्वेकिस्तानमा १९ जना बालबालिकाको मृत्युसँग भारतमा उत्पादित कफ सिरप सम्बन्धित रहेको बताइएको थियो। विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले पनि भारतका चारवटा कफ सिरप बालबालिकाको मृत्युसँग सम्बन्धित रहेको भन्दै विश्वव्यापी चेतावनी दिएको छ। केही नमुनाहरूको प्रयोगशाला विश्लेषणले तिनमा उल्लेख्य मात्रामा विषाक्त पदार्थहरू रहेको पुष्टि गरेको थियो।

उज्बेकिस्तानको स्वास्थ्य मन्त्रालयले गरेको प्रारम्भिक परीक्षणमा त्यस देशमा लगिएको सम्बन्धित औषधिको एउटा ब्याचमा एथलीन ग्लाइकोल नामक विषाक्त पदार्थ उल्लेख्य देखिएको थियो। खोकीको झोल औषधिकै कारण झन्डै १०० बालबालिकाको मृत्यु भएपछि इन्डोनेशियामा सबै खालका सिरप तथा झोल औषधि बेच्न रोक लगाइएको छ। संसारभरि औषधि निर्यात गर्ने भएकाले भारतलाई विश्वको औषधि उत्पादनको पावर हाउस समेत भन्ने गरिन्छ।

तर हालैका वर्षहरूमा भारतको औषधि उद्योगको द्रुत वृद्धिले औषधिको गुणस्तर खस्किएको र नियमन समेत कमजोर बनेको आरोपहरू लाग्ने गरेको छ ।
कतिपय अवस्थामा चिकित्सकको सिफारिस (प्रेस्क्रिप्शन)बिन‍ै कफ सिरपको बिक्री वितरण हुनु बालबालिकाको लागि जोखिमपूर्ण हुने चिकित्सकहरू बताउँछन्।