समाचार

प्रधानमन्त्री चार दिने भ्रमणमा भारत जाने तयारी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड यही जेठ १७ गते भारत भ्रमणमा जाने भएका छन् । दुवै देशका अधिकारीहरुको परामर्शमा प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण जेठ १७ देखि २० गतेसम्म तय भएको बताइएको छ । भ्रमणको मिति औपचारिक रुपमा सार्वजनिक गरिएको छैन । शुक्रबार वा शनिबार प्रेस रिलिज सार्वजनिक हुने समेत बताइएको छ ।

नेपाल र भारतका परराष्ट्र मन्त्रालयले एकसाथ प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणबारे जानकारी दिन प्रेस रिलिज सार्वजनिक गर्ने तयारी भएको हो । प्रधानमन्त्री प्रचण्ड जेठ १७ गते भारत जाने र १८ गते समकक्षी नरेन्द्र मोदीसँग नयाँदिल्लीमा भेटवार्ता गर्ने कार्यक्रम छ । त्यसपछि उनले भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग भेटवार्ता गर्नेछन् । जेठ १९ गते उनी मुम्बई जाने र २० गते स्वदेश फर्किने गरी भ्रमणको तालिकालाई अन्तिम रुप दिने तयारी छ ।