समाचार

नक्कली शरणार्थी प्रकरण- 'कसैले बयानकै आधारमा पक्राउ गर्न मिल्दैन'

काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणमा सञ्चारमाध्यममा नाम आएकाहरूको थप अनुसन्धान भइरहेको बताएका छन् ।

बिहीबार नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालले नक्कली भुटानी शरणार्थी प्रकरणबारे निष्पक्ष छानबिनको माग गर्दै बुझाएको ज्ञापन पत्र ग्रहण गर्दै उनले यस्तो बताएका हुन् ।

मन्त्री श्रेष्ठले कोही व्यक्तिले दिएको बयानकै आधारमा मात्रै पक्राउ गर्न नमिल्ने भन्दै थप अनुसन्धान भइरहेको बताए । उनले राजनीतिक दलहरूले नागरिकलाई जीवन फेरिएको अनुभूति दिन नसकेको बताए । उनले देशमा भ्रष्टाचारको जालो व्यप्त रहेको र कमिसनको जालो नतोड्दासम्म समृद्धिको यात्रा सफल हुन नसक्ने बताए ।

उनले भ्रष्टाचारको प्रभावकारी नियन्त्रण गर्न आवश्यक भएको बताए । उनले देशको नागरिकलाई अनागरिक बनाइ विदेश पठाइ सम्पत्ति कमाउने काम सह्य नहुने बताए । राजनीतिक प्रभाव र अवाञ्छित दबाबबाट मुक्त भएर स्वतन्त्र रुपमा छानबिन प्रहरीलाई निर्देशन दिएको पनि उनले बताए ।

उनले भने ‘जनतालाई हामीले जीवन फेरिएको अनुभूति दिलाउन सकेका छैनौँ । त्यसको निम्ति हामीले केही गर्नुपर्छ । हाम्रो देशमा भ्रष्टाचारको जालो धरै व्याप्त छ । कमिसनले पनि देशलाई जर्जर बनाएको छ ।

यो कमिसनको जालो र भ्रष्टाचारको जालोलाई नतोड्दासम्म समृद्धिको यात्रा पूरा हुन सक्दैन । अहिले हाम्रो मिसन, सुशासन, अर्थात् भ्रष्टाचारको प्रभावकारी नियन्त्रण गर्नुपर्नेछ । तब मात्रै समृद्धि हासिल हुनेछ । आफ्नै देशको नागरिकलाई अनागरिक बनाइ, अर्काको देशको शरणार्थी बनाइ विदेश पठाइ सम्पत्ति कमाउने काम सह्य हुँदैन ।

यस्तो प्रकारको काम भयो भन्ने कुरा अनुसन्धानमा देखिएकाले अनुसन्धानको प्रक्रियालाई अघि बढाएर अदालतमा पेस गरेका छौँ । अन्तिम फैसला अदालतले गर्छ, त्यो फैसला हामीले पर्खनु नै छ । अनुसन्धानको आधारमा हामीले अघि बढाएका छौँ ।

मैले नेपालप्रहरीलाई निष्पक्ष रुपमा काम गर्न भनिसकेको छु । राजनीतिक प्रभाव र अवाञ्छित दबाबबाट मुक्त भएर स्वतन्त्र रुपमा छानबिन गर्न भनेको छु । एउटाले बयान दिएकै आधारमा मुद्दा चलाउन मिल्दैन की भनेर अरू प्रमाणहरू पनि खोज्ने प्रयासमा प्रहरी छ । एउटा कसैले भनिदियो भन्दैमा पक्राउ गर्न मिल्दैन ।’