समाचार

क्वालालाम्पुर-भैरहवा रुटको भाडा ११ हजार ४६१ मात्र

Photo : Gorakhapatra

काठमाडौं । नेपाल वायुसेवा निगमले उडान विस्तार गर्न लागेको क्वालालाम्पुर–भैरहवा रुटको प्रमोशनल भाडादर झनै घटेको छ । सुरुवातमा १२ हजार ७ सय रुपैयाँ तोकेको यस रुटको भाडा अब ११ हजार ४६१ रुपैयाँमा झारिएको निगमले जनाएको छ । काठमाडौंबाट क्वालालाम्पुर जाने ए३२० जहाज क्वालालाम्पुरबाट भैरहवा अवतरण गर्ने छ । त्यसपछि सो जहाज भैरहवाबाट काठमाडौं आउने छ । यो गौतमबुद्ध विमानस्थलबाट नेवानिले गर्न लागेको पहिलो नियमित तथा व्यावसायिक उडान हुने छ ।

यस रुटमा २९ जेठ (१२ जुन)बाट निगमले सातामा एक उडानको तयारी गरेको छ । व्यावसायिक सम्भाव्यताका आधारमा निगमले यस रुटमा उडान बढाउने भएको छ । क्वालालाम्पुर–भैरहवा–काठमाडौं रुटको भाडा भने मात्र १२ हजार ३४६ रुपैयाँ तोकिएको छ । यसअघि सार्वजनिक यो रुटको भाडादर १४ हजार ७२० रुपैयाँ थियो । यस रुटमा यात्रुले ४५ किलो ब्यागेज निःशुल्क बोक्न सक्नेछन् ।