फिचर

प्रधानमन्त्रीको भ्रमणको तयारीलाई लिएर भारतीय विदेशमन्त्री र नेपाली राजदूतबीच भेट

काठमाडौं । प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डको भारत भ्रमणको तयारीका विषयमा नेपाल र भारतका अधिकारीबीच तयारी तिब्र बनेको छ । भ्रमणकै विषयलाई लिएर भारतस्थित नेपाली दूतावास र भारतको विदेश मन्त्रालयबिच दौडधुप बढेको हो । भ्रमणको व्यवस्थापनमा सघाउँदै दिल्लीस्थित दूतावासले मन्त्रालयसँग बृहत् छलफल र भेटवार्ता उच्च पारेको छ।

सोही क्रममा राजदूत डा. शङ्करप्रसाद शर्माले भारतका विदेशमन्त्री डा. सुब्रह्मण्यम जयशङ्करसँग बिहीबार गरेको भेटवार्तामा पुरानो बहुआयामिक सम्बन्धलाई थप फराकिलो, बलियो र गहिरो बनाउने इच्छा र प्रतिबद्धता दुवै पक्षबाट व्यक्त गरिएको राजदूत शर्माले जानकारी दिए ।

भारतका विदेशमन्त्री जयशङ्करले पनि राजदूत शर्मासँग गहिरो र बहुआयामिक साझेदारी रहेको मित्रवत् सम्बन्धका विषयमा छलफल भएको सामाजिक सञ्जाल ट्विटरमार्फत जानकारी दिएका छन् । आगामी दिनमा दुई देशबिचको सम्बन्धलाई थप फराकिलो बनाउन पहल गर्ने प्रतिबद्धता विदेशमन्त्री जयशङ्करले व्यक्त गरेका छन् । प्रधानमन्त्रीबाट आगामी १७ गतेबाट भारत भ्रमणको तयारी छ ।