समाचार

नेपाल-अमेरिका अन्तर्राष्ट्रिय महोत्सवमा ३७ फिल्म

काठमाडौं । गत वर्ष लघु फिल्मको विधातर्फ कान्स जितेको अविनाश विक्रम शाह निर्देशित फिल्म लोरी, नेपाल-अमेरिका अन्तराष्ट्रिय चलचित्र महोत्सवमा देखाइने भएको छ । यससँगै सुजित बिडारी निर्देशित ऐना झ्यालको पुतली, पाकिस्तानका साइम सदिक निर्देशित जोइल्याण्ड र दीपक रौनियार निर्देशित फोर नाइट्सलगायत फिल्म महोत्सवमा देखाइने भएको छ ।

जुन २२ देखि २५ सम्म आयोजना हुने महोत्सवमा नेपाल, अमेरिका, इजिप्ट, भारत, पाकिस्तानलगायतका ११ देशका फिल्म समेटिनेछन् । फिचर, वृत्तचित्र, लघु र एनिमेसन विधामा ३७ फिल्म देखाउने भएको हो ।

वासिङ्टन डिसी महानगर क्षेत्र स्थापित महोत्सवको उद्घाटन र समापन मेरिल्याण्डस्थित एएफआई सिल्भर थियटरमा हुने र फिल्म एएफआई तथा ओल्ड ग्रिनवेल्ट थिएटरमा प्रदर्शन हुने जनाइएको छ । आयोजक नेपाल-अमेरिका फिल्म सोसाइटीका अनुसार जुन २२ मा नेपालको तर्फबाट अस्कर अवार्डका लागि छनोट भएको बिडारी निर्देशित ऐना झ्यालको पुतली देखाउँदै महोत्सवको उद्घाटन हुनेछ ।

अमेरिकी निर्देशक न्यन्सी स्भेंन्डसेनको निर्देशनमा बनेको ुपासाङस् इन द स्याडो अफ एभरेष्टुको प्रदर्शनसँगै जुन २५ मा महोत्सव समापन तथा पुरस्कार वितरण गरिनेछ । त्यस्तै महोत्सवमा सुवर्ण थापा निर्देशित द सिक्रेट अफ राधाको विशेष प्रदर्शन हुनेसमेत जनाइएको छ ।

उत्कृष्ट फिल्महरु पुरस्कृत पनि गरिने बताइएको छ । महोत्सवमा फिल्म संस्कृति र नयाँ प्रविधिबारे अन्तर्क्रियात्मक छलफल हुनेछ । म्यारिल्याण्ड राज्यको पार्क्स तथा योजना आयोगको सहयोगमा उक्त छलफल हुने जनाइएको हो । म्यारिल्याण्ड राज्यमा स्थापित नेपाल–अमेरिका फिल्म सोसाइटीले सन् २०१७ देखि प्रत्येक वर्ष निरन्तर महोत्सव आयोजना गर्दै आइरहेको छ ।