फिचर

काभा भलिवल : उपाधीका लागि भारत र कजाखस्तान भिड्दै, नेपाल र उज्वेकिस्तान तेस्रो स्थानलाई भिड्दै

काठमाडौं । काठमाडौंमा जारी काभा वुमन्स भलिबल च्यालेन्ज कपको उपाधिका लागि भारत र कजाखस्तानबीच आज फाइनल खेल हुँदैछ । प्रतियोगिताका दुई अपराजित टोली आजको खेल जित्दै पहिलो पटक च्याम्पियन बन्ने लक्ष्यमा छन् । सेन्ट्रल एसियाका दुई बलिया टिम भारत र कजाखस्तानले यसअघिको दुई संस्करण खेलेका थिएनन् ।

डेब्यु प्रतियोगितामै दुवै टोली फाइनल पुगेका छन् र उपाधिबाट एक कदम मात्र टाढा छन् । फाइनल खेल त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा दिउँसो ४ बजेपछि सुरु हुनेछ । भारतले सेमिफाइनलमा उज्वेकिस्तानलाई सोझो सेटमा हराएर फाइनलमा स्थान बनाएको थियो भने कजाखस्तानले घरेलु टोली नेपालविरुद्धको प्रतिस्पर्धात्मक खेल ३(२ ले जितेर फाइनलमा पुगेको हो ।

समूह चरणमा दुवै टोलीले समान तीन खेल जितेका थिए । यसअघि २०१९ र २०२१ मा भएको सेन्ट्रल जोन महिला भलिबलको उपाधि जितेको घरेलु टोली नेपालले भने तेस्रो स्थानको लागि आजै उज्वेकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ ।

सेमिफाइनलमा पराजित भएपछि उपाधिमा ह्याट्रिक गर्ने सपना अधुरो रहेको नेपाल उज्वकिस्तानलाई हराउँदै तेस्रो हुने लक्ष्यमा छ । पछिल्लो पटक २०२१ मा बंगलादेशमा भएको सेन्ट्रल जोनमा नेपालले उज्वेकिस्तानलाई हराएर उपाधि जितेको थियो । नेपाल र उज्वेकिस्तानबीचको खेल बिहान साढे ११ बजे सुरु हुनेछ ।