विज्ञान प्रविधि

भारत भ्रमणको प्रमुख एजेण्डा एयर रुट : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न भारत भ्रमणमा नयाँ ‘एयर रुट’ प्राप्त गर्ने प्रवल सम्भावना रहेको बताएका छन्। शनिबार प्रतिनिधिसभाको बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री दाहालले भारत भ्रमणमा ‘ट्रेड ट्रान्जिट’बारे छलफल हुने बताए। छलफलका क्रममा सांसदहरूले प्रधानमन्त्रीको भारत भ्रमणमा सीमा समस्या र १९५० को सन्धीबारे के हुन्छ भनि प्रश्न गरेका थिए।

जवाफमा प्रधानमन्त्री प्रचण्डले १९५० को सन्धीलगायत अन्य विषय पनि उठाउने र वार्तामार्फत समाधान खोजिने प्रयास हुने सदनलाई जानकारी गराएका थिए। रासायनिक मल खोल्ने विषय पनि सरकारको प्राथमिकतामा रहेको प्रधानमन्त्रीले बताएका छन्।

भारत भ्रमणका क्रममा नेपालमा मल कारखाना खोल्ने विषयमा पनि छलफल हुने उनले बताए। प्रधानमन्त्री प्रचण्ड जेठ १७ गते चार दिने भ्रमणका लागि भारत जाँदैछन्। उनले १८ गते भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने कार्यतालिका छ। प्रधानमन्त्रीले आफ्नो भारत भ्रमण नेपाल र नेपाली जनताको पक्षमा नयाँ रेकर्ड बन्ने बताएका छन्।