समाचार

कर्मचारी संचयकोषबाट अब बचतकर्ताको दम्पत्तिले समेत उपचार खर्च पाउने

काठमाडौं । कर्मचारी सञ्चयकोषका बचतकर्ताले पाउने उपचार खर्च अब दम्पतीमा विस्तार भएको छ । यसअघि सम्बन्धित बचतकर्ताले मात्रै बिरामी वा घाइते भएमा पाउने उपचार खर्च अब पति वा पत्नी दुवैले समेत पाउनेछन् । बजेट वक्तव्यमार्फत अर्थमन्त्री डा. प्रकाशशरण महतले यस्तो प्रावधान ल्याएका हुन् ।

कर्मचारी सञ्चय कोषबाट सञ्चालित सञ्चयकर्ता स्वास्थ्योपचार कार्यक्रमको दायरा विस्तार गरी सञ्चयकर्ताको पति वा पत्नी समेतलाई समावेश गर्ने व्यवस्था मिलाइने उनले बताए । बजेटमार्फत गरिएको घोषणा कार्यान्वयनमा आए पति सञ्चयकर्ता भए उनकी पत्नीले र पत्नी सञ्चयकर्ता भए उनका पतिले पनि स्वास्थ्य उपचारको सुविधा पाउनेछन् ।

सञ्चयकर्ताले सामान्य रोग लागेमा वर्षको १ लाख र जटिल रोग लागेमा सेवा अवधिभर १० लाख रुपैयाँ उपचार खर्च बापत पाउँछन् । त्यसरी रकम पाउँदा उनीहरुले सञ्चय गरेको रकम भने काटिदैन । बजेट वक्तव्यले गरेको नयाँ व्यवस्था अनुसार पति वा पत्नी जो सञ्चयकर्ता भएपनि दुवैले खर्च पाउने गरी सुविधा विस्तार भएको हो । अहिले ५ लाख ५५ हजार सञ्चयकर्ताहरु कर्मचारी सञ्चयकोषमा आवद्ध छन् ।