फिचर

गैरआवासीय नेपाली संघ अमेरिकाको अब आफ्नै भवन

काठमाडौं । गैर आवासीय नेपाली सङ्घ, अमेरिकाले करिब तीन लाख डलरमा भवन खरिद गरेको छ । एक समारोहबिच मुटुरोग विशेषज्ञ डा.भगवान् कोइरालाले उक्त भवनको उद्घाटन गरे । उद्घाटनपछि छोटो मन्तव्य व्यक्त गर्दै डा. कोइरालाले एनआरएनले नयाँ भवन खरिद गर्नु एक नयाँ आयाम भएको बताए । उनले आगामी दिनमा एनआरएनले महत्त्वपूर्ण काम गर्न सकोस् भन्ने कामना गर्दै एनआरएनलाई आफूहरूको सधैँ साथ र सहयोग रहने बताए ।

समारोहमा उपस्थित डा. रमेशकान्त अधिकारीले बधाई र खुसी व्यक्त गरे । भवन खरिद एनआरएन अभियानमा लागेका सबैजनाका लागि यो खुसीको कुरा भएको बताएका छन् । उनीहरुले आगामी दिनमा एनआरएन अमेरिकाले महत्त्वपूर्ण काम गर्ने अपेक्षा व्यक्त गरे । भर्जिनिया क्षेत्रका एनआरएनमा सक्रिय मानिसहरू भवन खरिदपछि खुसी भएका छन् । एनआरएन भर्जिनिया च्याप्टरका पूर्व अध्यक्ष तथा आइसिसी सदस्य गोविन्द सुवेदीले एनआरएन अमेरिकालाई धन्यवाद दिँदै यो एक ऐतिहासिक उपलब्धि र सफलता भएको बताए ।