समाचार

कम हुँदै वर्षा, कुन प्रदेश छ मनसुनको प्रभाव ?

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरमा अवस्थित छ। साथै हाल बंगलादेशको उत्तरी भू-भागमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव पनि छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान् महाशाखाका अनुसार हाल कोशी,मधेश र बामगती प्रदेशमा सामान्य बदली रही बाँकी भूभागमा आंशिक देखि सामान्य बदली रहेको छ।

त्यस्तै कोशी प्रदेशका केही स्थान तथा मधेश र बागमती प्रदेशको थोरै स्थानहरुमा र बाँकी प्रदेशका एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशका पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा र बाँकी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। साथै मधेश प्रदेश र लुम्बिनी प्रदेशका तराईका थोरै स्थानहरुमा हावा-हुरीको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।

राति कोशी, मधेश बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशका एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। राति भने गण्डकी प्रदेशको एक-दुई स्थानमा मेघ गर्जन-चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ। साथै कोशी प्रदेश, मधेश प्रदेश र लुम्बिनी प्रदेशका तराईका थोरै स्थानहरुमा हावा-हुरीको समेत सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ।

वर्षाका कारण नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भू-क्षय जस्ता प्रकोप हुन सक्ने भएकोले जन स्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।