समाचार

चन्द्रयानको खोज : चन्द्रमामा अक्सिजन र खनिज पदार्थको संकेत भेटियो

ISRO\BBC

काठमाडौं । भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गगठन (इसरो) ले चन्द्रमाको सतहमा अक्सिजन र धेरै खनिज पदार्थ रहेको सङ्केत चन्द्रयान–३ को रोभरले फेला पारेको जनाएको छ । गएको बुधवार अर्थात् अगष्ट २३ तारिखमा चन्द्रमाको अनुसन्धानका लागि दक्षिणी ध्रुवमा चन्द्रयान–३ को विक्रम रोभर अवतरण भएको थियो ।

चन्द्रमाको सतहमा फलाम, टाइटेनियम, म्याग्नीज, सिलिकन, क्रोमियम, क्याल्सियम, एल्युमिनियम र सल्फरजस्ता खनिजपदार्थको उपस्थिति प्रज्ञान रोभरमा रहेको ‘लेजर–इन्ड्युस्ड ब्रेकडाउन स्पेक्ट्रोस्कोप (एलआईबीएस) उपकरणले पत्ता लगाएको इसरोले जनाएको छ ।

रोभरमा रहेको उपकरणले दक्षिणी ध्रुव नजिकै चन्द्रमाको सतहमा सल्फर (एस) को उपस्थितिलाई पहिलो पटक इन–सिटु मापनको माध्यमबाट स्पष्ट रूपमा पुष्टि गरेको इसरोलाई उद्धृत गरी भारतीय सञ्चार माध्यमले जनाएका छन् । हाइड्रोजनको खोजी जारी नै रहेको इसरोले एक्स अर्थात् ट्वीटर पोस्टमा उल्लेख गरेको छ ।