फिचर

किन नेपाल आएका हुन अमेरिकी सिनेटर होलेन ?

काठमाडौं । अमेरिकी संसद्को विदेश मामिला समिति र राज्य तथा विदेश सञ्चालन विनियोजन उपसमितिका सदस्य सिनेटर क्रिस भान होलेनले नेपाल भ्रमण पुरा गरेका छन् । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्ड अमेरिका जाने मिति नजिकिँदै गर्दा भएको यो भ्रमणलाई महत्वका साथ हेरिएको छ ।

उनी नेपाललागयत दक्षिण एसियाका तीनवटा मुलुक श्रीलंका र माल्दिभ्सको आठ दिने भ्रमणका लागि आएका थिए । शुक्रबार नेपाल आइपुगेका उनी आइतबार नेपालको भ्रमण सकाएर श्रीलंका प्रस्थान गरेका छन् ।

मेरील्याण्ड राज्यबाट सिनेटर रहेका होलेनले नेपाल भ्रमणका क्रममा विशेष गरी अमेरिकी लगानीमा रहेका परियोजना र आर्थिक तथा राजनीतिक क्षेत्रका विषयमा छलफल गर्ने उद्देश्य रहेको जनाइएको थियो ।

‘अमेरिका र यी भ्रमण हुने प्रत्येक देशहरू बीचको सम्बन्धनलाई सुदृढ पार्ने यो भ्रमणको मूल लक्ष्य हो । जसमा सुरक्षा सहयोग, आर्थिक सम्बन्धलाई प्रगाढ बनाउने, जलवायु परिवर्तनसँग लड्ने, प्रजातन्त्र र मानवअधिकारको विकास गर्नेलगायत विषयहरू समावेश छन्’, सिनेटको वेबसाइटमा उनको भ्रमण बारे उल्लेख छ ।

भ्रमणको अन्तिम दिन सञ्चारकर्मीसँग अन्तर्क्रिया गर्दै सिनेटर होलेनले आफू पहिले पनि नेपाल आएको र दोहोर्‍याएर आउन पाउँदा खुसी भएको बताए । ‘नेपाल फर्केर आउन पाउँदा खुसी लागेको छ । म यहाँ सन् १९८० मा आएको थिएँ । यो सुन्दर देश यात्रा गरेको धेरै वर्षपछि संयुक्त राज्य अमेरिका र नेपाली जनताबीचको मित्रताको ७६ वर्ष मनाउँदै गर्दा यहाँ आउन पाउँदा खुसी भएको छु’, उनले भने ।

उनले पछिल्ला वर्षहरूमा नेपाल धेरै परिवर्तन भएको, तर एउटा कुरा उस्तै रहेको भन्दै प्रशंसा गरे । ‘यस देशको सुन्दरता र सांस्कृतिक सम्पदा अहिल पनि उस्तै छन्’, उनले भने । भ्रमणका क्रममा उनले काठमाडौं र जनकपुरका हिन्दू मन्दिरहरू तथा बौद्ध स्तुपको समेत अवलोकन गरेका उनले नेपालको सुन्दर कुरा भनेको समृद्ध सांस्कृतिक सम्पदा रहेको बताए ।

उनले अमेरिकाले नेपालसँग बलियो आर्थिक सम्बन्ध विकास गर्न चाहेको बताए । एमसीसी कार्यान्वयको घोषणा भएको केही दिनपछि नेपाल आएका उनले अमेरिकी लगानीमा रहेका विभिन्न परियोजनाको निरिक्षण गरेका थिए ।

‘मैले मेरो यात्राको क्रममा एमसीए (एमसीसीको नेपाल शाखा) कार्यालयको भ्रमण गरेको थिएँ । एमसीसी कार्यान्वयन सुरु भएको केही दिनपछि म आएँ’, उनले भने, ‘यसको पाँच वर्षे समयावधि सुरु भएको छ । यो महत्वपूर्ण परियोजनालाई समयमै पूरा गर्न प्रयास गर्ने दृढ संकल्प छ ।’ उनले भ्रमणका क्रममा यहाँका महिला सहकारी, कला क्षेत्र, स्वास्थ्य क्षेत्रलगायत यूएसआईडीले लगानी गरेका परियोजनाहरूको निरीक्षण गरेका छन् । साथै, अमेरिकन चेम्बर अफ कमर्सका सदस्यहरूसँग पनि भेट गरे ।

उनले नेपालको प्रेस स्वतन्त्रता र मिडिया क्षेत्रको विकासको पनि प्रशंसा गरे । उनले नेपालमा यूएआईडीमार्फत लगानी भएका क्षेत्रको प्रगतिबाट आफू सन्तुष्ट रहेको समेत बताए । उनले नेपालको निजी क्षेत्रसँग सहकार्य गर्न चाहेको भन्दै अमेरिकी व्यापारिक संस्थाहरूले नेपालमा काम गर्न चाहेको बताए । उनले नेपाल र अमेरिकाको संसदबीच सहकार्य गर्न चाहेको भन्दै यस विषयमा छलफल होस् भन्ने चाहेको बताए ।